वाणिज्य बैंकको नाफा ५४ अर्बः नबिल र ग्लोबलको कडा टक्कर, कसको प्रतिस्पर्धी को ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ११ महिना वाणिज्य बैंकले झण्डै ५४ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले चालु आवको जेठ मसान्तसम्ममा ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
बैंकले आर्जन गरेको नाफा गत आर्थिक वर्षको तुलनामा भने ४.९७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
एक महिनाको अवधिमा बैंकहरुको नाफा ६ अर्ब १७ करोड ८७ लाख रुपैयाँले बढेको हो । वैशाखमा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक अगाडि छ । यसअवधिमा बैंकले आफ्ना नाफा १.१० प्रतिशतले बढाएर ६ अर्ब ४० करोड रुपैयाँ पुराएको हो ।
सर्वाधिक नाफाको दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको नाफा १८.५९ प्रतिशतले बढेर ६ अर्ब ३ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २९.८३ प्रतिशतले बढेर ५ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

यता, एभरेष्ट बैंकको नाफा २८ प्रतिशतले बढेर ४ अर्ब २४ करोड र नेपाल बैंकको १८५.२७ प्रतिशतले बढेर ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।
नाफामा एनएमबि बैंकको ९.१८ प्रतिशतले बढेर ३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यता, प्राइम बैंकको नाफा १८.२९ प्रतिशतले घटेर २ अबर्ब ९० करोड, स्टान्र्डड चार्टड बैंकको ९.७० प्रतिशतले घटेर २ अर्ब ७२ करोड, प्रभु बैकको २३.८० प्रतिशतले घटेर २ अर्ब ३१ करोड, सिद्धार्थ बैंकको २.२९ प्रतिशतले घटेर २ अर्ब २१ करोड र राष्टिय वाणिज्य बैंकको २८ प्रतिशतले घटेर २ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
सबैभन्दा कम नाफा आर्जन गर्नेमा कुमारी बैंक रहेको छ । कम्पनीको नाफा ७७.८४ प्रतिशतले घटेर ३७ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । साथै, एनआईसी एशिया बैंकको ६२ प्रतिशतले घटेर ८२ करोड र हिमालयन बैंकको ९० करोडमा नाफा सीमित भएको छ ।













