स्वास्थ्य बीमालाई सहज बनाउन प्रत्येक स्थानीय तहमा प्रथम सेवा बिन्दु विस्तार गरिदै

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशभरीका सबै स्थानीय तहमा प्रथम सेवा बिन्दु बिस्तार गर्ने तयारी गरेको छ । स्वास्थ्य बीमा सेवालाई नागरिक समक्ष सरल र सहज रुपमा उपलब्ध गराउने उद्देश्यले प्रत्यक स्थानीय तहमा प्रथम सेवा बिन्दु बिस्तार गर्न लागिएको हो ।
स्वास्थ्य बीमा बोर्डले बीमा सेवालाई प्रभावकारी बनाउन तीव्र रुपमा गृहकार्य गरिरहेको छ । आइतबार अर्थात असार २९ गते स्वास्थ्य बीमा बोर्डको बसेको सञ्चालक समितिको निर्णयले सम्पूर्ण स्थानीय तहमा प्रथम सेवा बिन्दु विस्तार गर्ने भएको छ । उक्त निर्णय अनुसार प्रथम सेवा बिन्दु नभएका स्थानीय तहलाई सक्दो चाँडो पायक पर्ने अस्पतालमा उक्त सेवाको माग गर्न बोर्डमा निवेदन पेश गर्न आह्वान गरेका छन् ।
देशभरी सञ्चालनमा रहेका प्रथम सेवा बिन्दु केन्द्रहरु तोकिएका सबै सरकारी अस्पतालमा बीमितहरुले उपचार सेवा पाउने गरी स्वास्थ्य बीमा बोर्डले निर्णय गरेको छ । उक्त नयाँ व्यवस्था आगामी आर्थिक वर्षको साउनदेखि लागु हुने भएको छ ।
आम बीमितहरुबाट आएका गुनासोहरुलाई मध्य नजर गर्दै स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ तथा नियमावली, २०७५ मा भएको व्यवस्था संशोधन गरी नयाँ व्यवस्था लागु गरेको छ । विगतमा बीमितहरुले तोकिएको एक मात्र प्रथम सेवा बिन्दुबाट सेवा लिनुपर्ने बाध्यकारी अवस्था थियो । सोही प्रावधानलाई स्वास्थ्य बीमा बोर्डले नियमावली संशोधन गरेर देशभरीका अनुमति प्राप्त प्रथम सेवा बिन्दुबाट सेवा लिन सकिने व्यवस्था कायम गरेको छ ।

बीमितले बीमा गर्दाको समयमा नै छनौट गर्नुपर्ने प्रथम सेवा विन्दुबाट मात्र सेवा लिनुपर्ने व्यवस्थाले बीमितलाई नेपाल भित्र कुनै पनि स्थानमा रहदा–बस्दा प्रथम सेवा बिन्दुमा पुगी सेवा लिुपर्ने प्रावधानबाट सेवा प्राप्त गर्न समस्या भएकाले सहज र सरल रुपमा बीमा सुविधा बीमितलाई पुर्याउनको लागि अनुमति प्राप्त देशभरीका प्रथम स्वास्थ्य सेवा बिन्दुको रुपमा काम गरीरहेका सरकारी अस्पतालबाट बीमा सेवा उपलब्ध गराइने भएको छ ।
स्वास्थ्य बीमा गरेका बीमितहरुले देशका जुनसुकै सहर तथा जिल्लामा बसोबास गरेपनि आफुलाई पायक पर्ने तथा नजिक रहेका सरकारी अस्पतालबाट स्वास्थ्य बीमा सेवा लिन सक्ने भएका छन् । बोर्डको यस निर्णयले बीमितहरुले स्वास्थ्य बीमा सेवा लिन थप सहज हुने विश्वास व्यक्त गरेका छन् ।













