एनआइसी एशिया बैंकको शेयरमा चलखेल, वित्तीय संकटमा फसेको बैंकको मूल्य कृत्रिम रुपमा उचालिँदै

३० असार २०८२, सोमबार १२:१५

काठमाडौँ । एनआइसी एशिया बैंकको शेयर मूल्यमा पछिल्लो समय देखिएको अस्वाभाविक उछालले बजारमा गम्भीर शंका उत्पन्न गराएको छ । कुनै प्राविधिक सुधार वा वित्तीय उपलब्धिबाट नभई नियोजित चलखेलका आधारमा बैंकको शेयर मूल्य ह्वात्तै बढिरहेको देखिएको हो ।

बैंकको मूल्यवृद्धिले पूँजी बजारमा पारदर्शिताको संकट मात्र निम्त्याएको छैन यसले साना तथा साधारण लगानीकर्तालाई भारी घाटाको जोखिममा धकेलेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले हकप्रद शेयर जारी गरेर पुँजी वृद्धि गर्न सक्ने व्यवस्था ल्याएको भनिएको छ । तर, सो व्यवस्था कार्यान्वयनमा आउन अझै स्पष्टीकरण र प्रक्रियागत चरणहरू पार गर्नु पर्नेछ । राष्ट्र बैंकले सर्कुलरमार्फत मात्रै त्यो विषय प्रष्ट पार्नेछ जसको आधारमा बैंकहरूले हकप्रद प्रक्रिया अघि बढाउन सक्नेछन् । तर अहिले नै केही सीमित समूहहरुले मौद्रिक नीतिको अपव्याख्या गर्दै बजारमा आशा र भ्रम फैलाउने कार्य थालेका छन् । त्यसैको परिणामस्वरूप एनआइसी एशिया जस्ता वित्तीय संकटमा फसेका बैंकको शेयर मूल्य ह्वात्तै बढ्ने क्रम देखिएको हो ।

यथार्थमा हेर्ने हो भने एनआइसी एशिया बैंक हाल वित्तीय रूपमा निकै कमजोर अवस्थामा पुगेको छ । बैंकको खराब कर्जा अनुपात अन्य वाणिज्य बैंकहरूको तुलनामा उच्च विन्दुमा पुगेको देखिन्छ । बैंकले लगानी गरेका धेरै कर्जाहरू फिर्ता हुने सम्भावना न्यून बन्दै गएको छ । हाल बैंकलाई छद्मभेषी मान्छेले चलाउने गरेको छ । जोखिम मूल्याङ्कनमा कमजोरी, राजनीतिक पहुँच र सम्बन्धका आधारमा गरिएको कर्जा प्रवाह, उचित अनुगमनको अभावले गर्दा बैंकको कर्जा पोर्टफोलियो दयनीय अवस्थामा पुगेको हो ।

त्यसैगरी, बैंकको पूँजी पर्याप्तता अनुपात समेत नियामक निकायले तोकेको न्यूनतम सीमासँग संघर्ष गरिरहेको अवस्थामा छ । पुँजी संरचना कमजोर हुँदा बैंकले थप जोखिम बहन गर्न सक्दैन जसको प्रत्यक्ष असर ग्राहकको निक्षेप सुरक्षामा समेत पर्न सक्छ । यस्तो अवस्थामा बैंकले थप हकप्रद मार्फत पूँजी जुटाउने प्रयास गर्छ गरे पनि त्यसको प्रक्रिया निकै जटिल र समयलाग्दो छ ।

अर्को गम्भीर समस्या बैंकको लाभांश वितरण नहुनु हो । विगत वर्षदेखि लगानीकर्ताले कुनै लाभांश प्राप्त गरेका छैनन् । एउटा सार्वजनिक वाणिज्य बैंकले निरन्तर रूपमा लाभांश नदिनु भनेको व्यवस्थापनको अक्षमता र वित्तीय संकटको प्रत्यक्ष संकेत हो । यस्ता कम्पनीको शेयर मूल्य बजारमा स्वाभाविक रूपमा घट्नुपर्ने हो । तर उल्टो अहिलेको समयमा एनआइसी एशियाको शेयर मूल्य बढ्दै जानु नियोजित खेलको स्पष्ट उदाहरण हो ।

बजारमा यस्ता खेल खेल्ने केही सीमित व्यक्ति वा समूहहरू हुन्छन् जो सूचनाको दुरुपयोग गरेर पहिले नै सस्तो मूल्यमा शेयर जम्मा गर्छन् । त्यसपछि, बजारमा मौद्रिक नीति, हकप्रद, वित्तीय पुनरुत्थान जस्ता विभिन्न भ्रम फैलाएर मूल्य ह्वात्तै बढाउने प्रयास गर्छन् । जब मूल्य बढ्छ, उनीहरू मुनाफा लिएर बाहिरिन्छन् । तर त्यो समयमा साधारण लगानीकर्ताले भर्खरै खरिद गरेको शेयर मूल्य झन् ओरालो लाग्न थाल्छ । यस्ता रणनीतिहरू स्पष्ट रूपमा आपराधिक प्रकृतिका हुन्छन् ।

एनआइसी एशिया बैंकको आन्तरिक अवस्थाले पनि बैंक थप संकटमा धकलिरहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोनश न्यौपाने र संस्थापक शेयरधनीहरूबीच विवाद चुलिएको चर्चा बजारमा फैलिएको छ । यस्ता विवादहरू कुनै संस्थाको दीर्घकालीन स्थायित्वका लागि घातक हुने कुरा स्वाभाविक हो । नेतृत्व र स्वामित्व पक्षबीच समन्वय नहुँदा संस्थाको रणनीति, निर्णय क्षमता र कर्मचारीको मनोबलसमेत कमजोर हुन्छ ।

झन यस्ता मतभेदपछि संस्थापक शेयरधनीहरुले आफनो शेयर बिक्री गरेर बाहिरिन थालेका छन् । संस्थापक पक्षले विश्वास गुमाएर पछि हट्न थाल्नु भनेको बैंकको भविष्य प्रतिकूल दिशातर्फ लम्किनु हो । यस्तो बेला शेयर बजारमा मूल्य वृद्धिको प्रपञ्च देखिनु झन् खतरनाक संकेत हो ।

एनआइसी एशिया कुनै बेला नेपालकै सबैभन्दा द्रुत रूपमा वृद्धि गर्ने वाणिज्य बैंक थियो । डिजिटल बैंकिङ, शाखा विस्तार, ग्राहक संख्या र प्रविधिमा अगाडि देखिएको यो बैंक अहिले भने लगानी निर्णय र जोखिम व्यवस्थापनको कमजोरीका कारण समस्यामा परेको छ । कर्जामा भएका रणनीतिक गल्तीहरूले गर्दा खराब कर्जा उच्च विन्दुमा पुगेको छ । गैरबैंकिङ सम्पत्तिहरू बढेको छ, जसको व्यवस्थापन असहज छ ।

यसरी खराब कर्जाको अनुपात बढ्नु भनेको बैंकले फिर्ता लिन नसकेको रकमले उसकै पुँजी जोखिममा पारिदिएको हो । त्यस्ता कर्जा सम्पत्ति भएर पनि नगद प्रवाह नगर्ने बन्दा बैंकको नाफा खुम्चिँदै गएको हो । हालसम्म बैंकले पूँजी संकलन गर्न हकप्रद जस्ता माध्यममा प्रस्ट योजना ल्याएको छैन तर बजारमा हल्ला फैलाएर मूल्य बढाउने रणनीति भने देखिएको छ ।

साना तथा नयाँ लगानीकर्ताले अझ बढी जोखिम मोलिरहेका छन् । मौद्रिक नीति बुझ्ने, संस्थाको वित्तीय विवरण विश्लेषण गर्न सक्ने क्षमता नभएका व्यक्तिहरू हकप्रदको लोभमा शेयर किनिरहेका छन् । उनीहरूले जब मूल्य ओरालो लाग्न थाल्छ त्यतिबेला लगानी बालुवामा पानि झै हुने खतरा छ । यस्तो अवस्थामा उनीहरू पूँजी गुमाउने मात्र होइन पूँजी बजारप्रतिको विश्वास पनि गुमाउँछन् ।

शेयर बजार कुनै पनि संस्थाको दीर्घकालीन स्थायित्व, नाफा, व्यवस्थापन क्षमता र वित्तीय पारदर्शिताको मूल्याङ्कन गर्ने प्लेटफर्म हो । तर यस्ता नियोजित चलखेलहरूले यो बजारलाई अराजकता तर्फ लैजाने खतरा पैदा भएको छ ।

One thought on “एनआइसी एशिया बैंकको शेयरमा चलखेल, वित्तीय संकटमा फसेको बैंकको मूल्य कृत्रिम रुपमा उचालिँदै

  1. अनिवार्य says:

    कमिसन पाएन कि के हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*