कालीगण्डकी गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा, १ करोड ७२ लाख भुक्तानी

३० असार २०८२, सोमबार १२:५२

काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा पालिकाभित्र रहेका ४ हजार ५४३ घरधुरीको बीमा खर्च बापत एक करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको हो।

गाउँपालिकाले स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न सबै नागरिकलाई बीमा प्रणालीमा समावेश गरेको जनाएको छ। यसका लागि कालीगण्डकी गाउँपालिकाले स्याङ्जास्थित स्वास्थ्य बीमा बोर्डको कार्यालयमा एक करोड ७२ लाख ७२ हजार १ सय ५० रुपैयाँको भुक्तानी गरिसकेको छ।

कालीगण्डकी गाउँपालिकामा सातवटा वडा रहेका छन्। वडा नम्बर १ मा ७७२ घरधुरी, वडा नम्बर २ मा ७२६, वडा नम्बर ३ मा ५८३, वडा नम्बर ४ मा ६६८, वडा नम्बर ५ मा ६८०, वडा नम्बर ६ मा ५८८ र वडा नम्बर ७ मा ५२६ घरधुरी छन्। ती सबै घरधुरीलाई स्वास्थ्य बीमाको दायरामा ल्याइएको हो।

गाउँपालिकाले यो अभियान चार चरणमा सम्पन्न गरेको छ। पहिलो चरणमा १ हजार ६१७ घरधुरीका लागि ६१ लाख ७७ हजार १ सय ५० रुपैयाँ, दोस्रो चरणमा २ हजार १८३ घरधुरीका लागि ८२ लाख ७० हजार ५ सय रुपैयाँ, तेस्रो चरणमा ३९९ घरधुरीका लागि १४ लाख ९२ हजार ५ सय रुपैयाँ र चौथो तथा अन्तिम चरणमा ३४४ घरधुरीका लागि १३ लाख ३२ हजार ४ सय ५० रुपैयाँ बीमा प्रिमियम भुक्तानी गरिएको छ।

पालिकाले गरेको यस पहलले स्वास्थ्य बीमाको पहुँच ग्रामीण क्षेत्रमा विस्तार गर्ने उदाहरणीय अभ्यासको रुपमा लिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*