दुईदिन अघि नै बीमा प्राधिकरणबाट बेपत्ता भएका थिए शरद ओझा

काठमाडौं । हिजो बसेको मन्त्रिपरिषदको बैठकले छानविनको दायरामा ल्याउने निर्णय गरेका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा दुई दिनअघि देखि नै कार्यालय आउन छोडेका थिए ।
बीमा प्राधिकरण स्रोतका अनुसार ओझाले आफूलाई ज्वरो आएको भन्दै कार्यालयमा अनुपस्थित भएका थिए । प्राधिकरणका एक कर्मचारीले भने, औपचारिक रुपमा विदा स्वीकृत गराएका पनि थिएनन्, कुनै खवर नगरी कार्यालय आउन छोडेका थिए ।
ओझाले दुई दिन पहिले नै आफू विरुद्धमा मन्त्रिपरिषदले छानविन समिति बनाउन लागेको सूचना अर्थमन्त्रालयबाट पाएका थिए । स्रोतका अनुसार उक्त सूचना लगत्तै उनी कार्यालयमा आउन छोडेका थिए । तर, बीमा प्राधिकरणको गाडी भने लिएरै गएका छन् ।
निलम्वनमा परेपछि अब उनले बीमा प्राधिकरणको गाडी तथा अन्य भौतिक सम्पत्तिहरु आजै फिर्ता गर्नुपर्नेछ । ज्वरो आएर कार्यालय आउन नसकेको भन्ने बाहनामा ओझा आफू विरुद्धको सम्भावित कारवाही रोक्न सेटिङ हान्न खोजिरहेका थिए । तर, प्रधानमन्त्री ओलीको ठाडो प्रस्ताव अघि सारेपछि परिस्थितिले कोल्टे फेर्न पुगेको हो ।
गत चैत्र १७ गते सर्वोच्च अदालतमा अधिवक्ता इन्दिरा धमलाले रिट दर्ता गरेपछि उनको पद धरापमा परेको थियो । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत निलम्वित अध्यक्ष ओझामाथि छानविन गरिरहेकै अवस्था छ ।













