घुस ‘डिल’ अडिओ प्रकरणपछि मन्त्री गुप्ताको राजीनामा

३१ असार २०८२, मंगलवार ११:२४

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफू मुछिएको घुस ‘डिल’ अडिओ प्रकरणपछि पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ता मंगलबार बिहान बालुवाटार पुगेका थिए र त्यहीँ राजीनामा बुझाएका हुन् ।

केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवासम्बन्धी विषयमा मन्त्री गुप्ता र एक बिचौलियाबीच लाखौं रुपैयाँको घुस ‘डिल’ भएको अडिओ सार्वजनिक भएको थियो । अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताको राजीनामाका लागि चौतर्फी दबाब बढेको थियो ।

प्रधानमन्त्री ओलीले सोमबार नै गुप्तालाई बालुवाटार बोलाएर सो अडिओ प्रकरणबारे विस्तृत जानकारी लिएका थिए । प्रधानमन्त्रीले मन्त्री गुप्तासँग सो अडिओमा उल्लेखित बिचौलियाहरू, रकम र नियुक्तिको विषयमा सोधपुछ गरेका थिए । सोही क्रममा ओलीले गुप्तालाई नैतिकता र सुशासनको दृष्टिकोणले तत्काल पदत्याग गर्न निर्देशन दिएका थिए ।

सरकारले सार्वजनिक अडिओको सत्यता पुष्टि गर्न फरेन्सिक परीक्षणका लागि त्यसलाई प्रयोगशालामा पठाइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*