नेपाल इन्स्योरेन्स कम्पनीद्वारा प्राधिकरणबाट स्वीकृत नलिई हकप्रद निष्काशन, सिईओको भूमिका शंकास्पद

काठमाडौं । नेपालको सबैभन्दा पुरानो कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत नलिई गैर कानुनी रुपमा कूल चुक्ता पुँजिको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाएको खुलेको छ ।
यही असार २० गते नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर जारी गर्ने सम्बन्धी सूचना निष्काशन गरेको थियो । तर, उक्त निर्णय सञ्चालक समितिबाट स्वीकृत नगराई तथा नियामक बीमा प्राधिकरणबाट समेत स्वीकृति नलिई निष्काशन गरेको पाइएको छ ।
बीमा प्राधिकरण स्रोतले नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्न स्वीकृति नलिएको जनाएको छ । कम्पनीले कूल चुक्ता पुँजिको ३४.७८ प्रतिशत अर्थात ६५ लाख ७६ हजार ९६८ कित्ता हकप्रद शेयर निष्काशन असार २० गते विवरण पत्र सार्वजनिक गरेको थियो ।
बीमा प्राधिकरणबाट स्वीकृत नलिई अघि बढाइएको सो कार्य गैर कानुनी हो । उक्त गैर कानुनी कार्यमा नेपाल इन्स्योरेन्स कम्पनीका सिईओ बिके महर्जन र कम्पनी सचिव सुलना श्रेष्ठको संलग्नता रहेको खुलेको छ । सञ्चालक समितिको बैठकमै बीमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने विषय सञ्चालक समितिका सदस्यले उठाउँदा सिईओ बिके महर्जनले मैले सबै सेटिङ मिलाईसके फाइनल भइसक्यो भन्दै पन्छिएका थिए ।
बीमापोष्टको सम्पर्कमा आएका सञ्चालक समितिका सदस्यले बिके महर्जनले प्राधिकरणका निलम्वित अध्यक्ष शरद ओझासँग कुनै विशेष प्रकारको सेटिङ गरेको हुनसक्ने जनाइएको छ ।
सो सम्बन्धमा जिज्ञाशा राख्दा सिईओ महर्जनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।
उता, नियामक बीमा प्राधिकरणले भने सिईओ सहितका सञ्चालक समितिलाई कारवाही गर्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले दफा १३९ बमोजिम दण्ड जरिवना कार्यान्वयन हुने गरी स्पष्टीकरण सोधेर कारवाही गर्ने प्रक्रिया अघि बढाएको छ । साथै हकप्रद शेयर स्थगित गर्न पनि आदेश दिएको छ ।













