बजारमा हरियालीः परिसूचक र कारोबारमा रौनक, करेक्सन हुँदै मार्केट बुलको यात्रामा!

३१ असार २०८२, मंगलवार १५:०६

काठमाडौँ । छोटो समयमै तीव्र गतिमा बढेको शेयर बजारमा सोमबार देखिएको करेक्सनपछि मंगलबार पुनः हरियाली देखिएको छ । बजार घटेको मौका छोपेर सोमबार नाफा बुक गर्ने ट्रेडरहरुले दबाब सिर्जना गरेपछि नेप्से ओरालो लागेको थियो । तर मंगलबारको कारोबारमा पुनः उच्च सुधार देखिएको हो, जसले लगानीकर्तामा नयाँ आशा थपेको छ ।

पछिल्लो समय सार्वजनिक भएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सेयर बजारमा सकारात्मक माहोल बनाएको छ । आइतबार नै मौद्रिक नीतिले उत्साहित लगानीकर्ताहरुको साथ पाएपछि नेप्सेमा उल्लेख्य वृद्धि भएको थियो। सोमबार नाफा बुक गर्नेहरुकै कारण बजार थोरै घटेको भए पनि त्यसलाई सामान्य करेक्सनको रुपमा लिनुपर्ने विश्लेषकहरुको भनाइ छ ।

शेयर बजार सधैँ एउटै दिशामा चल्दैन। नियमित रूपमा केही समयको वृद्धिपछि बजारमा करेक्सन आउनु स्वाभाविक हो । विशेष गरी यसपटकको मौद्रिक नीतिले ब्याजदर सस्तो बनाउने, लगानीको पहुँच बढाउने र पूँजी बजारमैत्री नीति ल्याएकोले बजारले दीर्घकालीन रूपमा फाइदा लिने विश्वास गर्न सकिन्छ ।

मौद्रिक नीतिमा वाणिज्य बैंकको मुनाफा र व्यवसाय विस्तार गर्न सहयोग पु¥याउने, लघुवित्त कम्पनीहरुको लाभांश सम्बन्धी प्रतिबन्ध हटाउने, शेयर धितो कर्जाको सीमा बढाउने जस्ता निर्णयले लगानीकर्तालाई उत्साहित बनाएको छ । यस्ता प्रावधानको प्रभाव क्रमशः बजारमा सुधार तिर लम्किने अपेक्षा गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८६ अकंले बढेर २७६२.५७ बिन्दुमा कायम भएको छ। आज ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटै उपसूचकमा हरियाली आएको छ । बैंकिङ समूहको १.९२ प्रतिशत, विकास बैंक समूहको १.५९ प्रतिशत, फाइनान्स समूहको १.८२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१५ प्रतिशत, हाइड्रोपावर समूहको १.६७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसदिन २०९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३९ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*