भारतीय स्वाद, नेपाली उत्पादन: चौधरी ग्रुपसँगको साझेदारिमा रिलायन्सले ल्यायो क्याम्पा कोला

काठमाडौँ । भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिजले चौधरी ग्रुपसँगको सहकार्यमा आफ्नो चर्चित कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ नेपाली बजारमा ल्याएको छ। रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको एफएमसिजी क्षेत्रको शाखा रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसिपिएल)ले उत्पादन गर्दै आएको क्याम्पा कोला अब नेपालमा चौधरी ग्रुपमार्फत उत्पादन तथा वितरण हुने भएको हो।
नेपाली बजारमा कोल्ड ड्रिंकको खपत तीव्र रुपमा बढ्दै गइरहेका बेला रिलायन्स र चौधरी ग्रुपबीचको यो सहकार्यलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यस ब्रान्डले भारतमा आइपिएल जस्ता ठूला इभेन्टहरूमा प्रायोजन गर्दै लोकप्रियता हासिल गरिसकेको छ। अब यही ब्रान्ड नेपाली उपभोक्ताका लागि समेत सहज रूपमा उपलब्ध हुने भएको हो।
रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेडका कार्यकारी निर्देशक केतन मोदीका अनुसार, ‘चौधरी ग्रुपजस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा ब्रान्ड ल्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौँ।’ उनले भने, ‘क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो, जसले धेरै पुस्तासँग भावनात्मक सम्बन्ध कायम राखेको छ। हामी नेपालमा दीर्घकालीन लगानीको सोचसहित आएका छौँ।’
उनका अनुसार, क्याम्पा कोला गल्फ कोअपरेसन काउन्सिल (जिसिसी) क्षेत्रका देशहरूमा पहिले नै स्थापित ब्रान्ड हो। अब नेपालमा यसको स्थानीय उत्पादन तथा वितरण चौधरी ग्रुपले गर्नेछ। कम्पनीको विश्वास छ कि यो ब्रान्ड नेपाली युवाको ‘अडिग आत्मबल र लक्ष्यप्रतिको प्रतिबद्धता’को प्रतीक बन्नेछ।
क्याम्पा कोलाको पोर्टफोलियोमा हालको लागि पाँच प्रकारका पेय उपलब्ध हुनेछन्—क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक। तीमध्ये क्याम्पा कोला, लेमन र अरेन्ज स्वादका २५० मिलिलिटरका कार्बोनेटेड बोतलको उपभोक्ता मूल्य ३० रुपैयाँ तोकिएको छ। इनर्जी बेरी किकको २५० मिलिलिटर बोतलको मूल्य भने ४० रुपैयाँ छ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘नेपालमा क्याम्पा कोला ल्याउन रिलायन्ससँग सहकार्य गर्नु चौधरी ग्रुप र देशका लागि गौरवको कुरा हो।’ उनले थपे, ‘यो साझेदारीले नेपाली उपभोक्तालाई गुणस्तरीय र ऐतिहासिक पेय पदार्थको स्वादमा रमाउने अवसर दिनेछ।’
रिलायन्स र चौधरी ग्रुपबीचको यो सहकार्य केवल व्यावसायिक साझेदारी मात्र नभई नेपालको बजारमा दीर्घकालीन रूपमा स्थापित हुने रणनीतिक दृष्टिकोण पनि हो। नेपाली उत्पादनसँगै रोजगारी, लगानी र नवप्रवर्तनको अवसर पनि यसबाट विस्तार हुने अपेक्षा गरिएको छ।













