निजी क्षेत्रले देश उज्यालो बनायो, अब सरकारले बाटो खोल्नुपर्छ: देउवा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालको २३ औं वार्षिक साधारणसभामा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग ऊर्जा विकासका लागि निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्न आग्रह गरेका छन्।
सरकारको साथ, निजी क्षेत्र चालक भन्ने नाराका साथ आयोजित यस साधारणसभामा सम्बोधन गर्दै देउवाले नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको योगदानलाई विशेष महत्वका साथ प्रस्तुत गरे। उनले भने, ‘नाराजस्तै सरकारले नेपालमा ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्नुपर्दछ भन्ने मेरो पनि मान्यता छ।’
उनले निजी क्षेत्रले जलविद्युत उत्पादनमा हासिल गरेको प्रगति र उपलब्धिलाई सराहना गर्दै भने, ‘आज मुलुकमा लोडसेडिङ छैन भने त्यसको प्रमुख श्रेय निजी क्षेत्रकै लगानी र योगदानलाई जानुपर्छ।’
नेपाली कांग्रेस निजी क्षेत्रको नेतृत्वमा जलविद्युत उत्पादनको पक्षमा प्रारम्भदेखि नै उभिएको उल्लेख गर्दै देउवाले तत्कालीन उपप्रधान तथा जलस्रोत मन्त्री शैलजा आचार्यको नेतृत्वमा निजी क्षेत्रलाई जलविद्युत क्षेत्रमा प्रवेश दिने नीतिगत निर्णय लिइएको स्मरण गरे। ‘त्यही निर्णयको परिणामस्वरूप आज निजी क्षेत्रको हिस्सेदारी ८० प्रतिशत नजिक पुगेको छ र अर्बौं रुपैयाँको लगानी सम्भव भएको हो’ उनले स्पष्ट पारे।
साधारणसभामा उठाइएका समस्यातर्फ ध्यानाकर्षण गराउँदै देउवाले शेयर निष्काशनमा ढिलाइ, विद्युत खरिद सम्झौता (पीपीए) नभएको, राष्ट्रिय निकुञ्जभित्र आयोजना निर्माण गर्न नपाइने, प्रसारण लाइन समयमै नबन्दा बिजुली खेर जाने, वन मन्त्रालय र सरकारी निकायमा प्रक्रियागत झन्झट हुने, काम अघि बढाउन लामो समय लाग्नेजस्ता चुनौतीहरुको समाधानमा सरकार गम्भीर हुनुपर्ने बताए।
उनले भने, ‘देशमै बसेर लगानी गर्छु भन्ने इच्छाशक्ति राख्ने व्यवसायीहरूलाई सरकारबाट सहजीकरण मिल्नुपर्छ, दुःख दिइनु हुँदैन। मुलुकलाई अहिले निजी क्षेत्रको लगानीको खाँचो छ। लगानीविना विकास सम्भव छैन, समृद्धि सम्भव छैन भन्नेमा हामी पूर्ण विश्वास गर्छौं।’
आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्रकै मुख्य भूमिका रहेको उल्लेख गर्दै देउवाले उदारवाद र निजीकरणको मार्गमा अगाडि बढ्दा प्राप्त उपलब्धिहरूलाई स्मरण गरे। ‘यस नीतिको कार्यान्वयनमा कमजोरी भए त्यसलाई सच्याएर निजी क्षेत्रलाई थप प्रोत्साहन दिनुपर्छ’ उनले भने।
ऊर्जा उत्पादन वृद्धिप्रति प्रसन्नता व्यक्त गर्दै देउवाले देशभित्र लोडसेडिङ अन्त्य हुनु र छिमेकी मुलुकहरूसँग विद्युत व्यापार सुरु हुनु सकारात्मक उपलब्धि भएको बताए। उनले स्वदेशभित्र बढीभन्दा बढी उद्योग व्यवसाय सञ्चालन गरेर बिजुलीको खपत बढाउनुपर्नेमा जोड दिए।
उनले प्रधानमन्त्री हुँदा पहिलोपटक ३९ मेगावाट विद्युत व्यापार सुरु गरिएको जानकारी दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त सहकार्यको समझदारी पनि आफूले प्रधानमन्त्री हुँदा नै गरेको उल्लेख गरे। ‘त्यही समझदारीको आधारमा अहिले भारतसँग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विद्युत व्यापार हुन थालेको हो’ देउवाले भने।
विद्युत खपत र व्यापारको दायित्व सरकारको भएको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने धारणा राखे। ‘जो कोही लगानी गर्न चाहन्छ, उसलाई सहज र सरल विधिबाट अघि बढ्न दिने वातावरण सरकारले बनाउनु पर्छ’ उनले जोड दिए, ‘विदेशी लगानीकर्ताहरुलाई पनि नेपालमा ढुक्कसँग लगानी गर्न सक्ने वातावरण बनाउनु आजको आवश्यकता हो।’













