सिद्धार्थ बैंकको ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन सकिने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असार २१ गतेदेखि निष्कसनमा ल्याएको १० वर्षे अवधि र वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको ‘एसबीएल डिबेञ्चर २०९१’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
यसअन्तर्गत बैंकले प्रतिडिबेञ्चर १ हजार रुपैयाँका दरले २५ लाख कित्ता डिबेञ्चर निष्कासन गरेको हो। जसमध्ये १५ लाख कित्ता व्यक्तिगत तवरबाट निष्कासन गर्नेछ।
यसरी बाँकी १० लाख कित्तामध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई समेत गरी ९ लाख ५० हजार कित्ता सर्वसाधारणलाई निष्कासन गरेको हो। यसमा घटीमा २५ कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ।
यसमा बालुवाटारस्थित बिक्री प्रबन्धक समेत रहेको एनएमबि क्यापिटल लिमिटेड, सिद्धार्थ बैंकको नक्सालस्थित केन्द्रीय कार्यालयका साथै बोर्डबाट सी–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयर अनलाईनबाट पनि आवेदन दिन सकिनेछ।












