निक्षेपको ब्याजदर ह्वात्तै घटाउने बैंकहरूको निर्णय

काठमाडौं । साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर फेरि घटेको छ। नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएसँगै अधिकांश बैंकहरूले पनि ब्याजदर घटाएका हुन्।
नयाँ मौद्रिक नीतिअनुसार राष्ट्र बैंकले नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा, स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशतमा र स्थायी निक्षेप संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारेपछि बैंकहरूले पनि ब्याजदर घटाएका हुन्।
असारमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ५.९० प्रतिशत थियो भने साउनमा घटेर ५.७० प्रतिशतमा पुगेको छ। यसरी ब्याजदर ०.२० प्रतिशत विन्दुले घटेको हो। त्यस्तै संस्थागत मुद्दती निक्षेपमा पनि ब्याजदर ०.२६ प्रतिशत विन्दुले घटेको छ।
२० वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकले ब्याजदर घटाएका छन्। तीमध्ये सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक प्रभु बैंक रहेको छ। असारमा ६.१ प्रतिशत ब्याज दिइरहेको यस बैंकले साउनमा घटाएर ४.२५ प्रतिशत मात्रै दिने भएको छ।

अर्कोतर्फ व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ यसले ६.२६ प्रतिशत ब्याज दिने जनाएको छ। चार वटा बैंक माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिद्दार्थ बैंक र एनएमबि बैंकले भने असारकै ब्याजदर कायम राखेका छन्।
ब्याजदर बढाउने बैंकमध्ये हिमालयन बैंक अग्रस्थानमा छ। उसले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर ५.५ प्रतिशतबाट ६ प्रतिशत बनाएको छ भने संस्थागत निक्षेपको ब्याजदर ४ प्रतिशतबाट ५ प्रतिशत पुर्याएको छ।
सामान्यतः छोटो अवधिको निक्षेपमा कम र लामो अवधिको निक्षेपमा बढी ब्याजदर दिइन्छ। ब्याजदर घटेपछि कर्जाको ब्याजदर पनि कम हुने सम्भावना हुन्छ। तर बैंकहरूले पर्याप्त कर्जा प्रवाह गर्न नसक्दा राष्ट्र बैंकमा करिब ७ खर्ब रुपैयाँ थन्किएको छ।
आर्थिक वर्षको अन्त्यसम्म राष्ट्र बैंकले ६ खर्ब ९२ अर्ब रुपैयाँभन्दा बढी तरलता बैंक प्रणालीबाट खिचेको जनाएको छ। यो गत वर्षको तुलनामा दोब्बर हो।













