भारतबेन्ज गाडी विक्रेता ओम्नी मोटर्सको व्यापारमा पुनः सुधार, ९ महिनामै ७९ करोडको व्यापार

३२ असार २०८२, बुधबार १३:११

काठमाडौँ ।  भारतबेन्ज ब्रान्डका व्यावसायिक सवारीसाधन नेपालमा बिक्री वितरण गर्दै आएको ओम्नी मोटर्स प्रालिले पछिल्लो समय फेरि कारोबारमा सुधार गर्न थालेको छ। पछिल्ला केही वर्षमा गिरावटतर्फ उन्मुख देखिएको व्यापार अब विस्तारोन्मुख अवस्थामा प्रवेश गरेको संकेत कम्पनीले २०२५ को सुरुवाती ९ महिनामा गरेको कारोबारले दिएको छ। कम्पनीले यही अवधिमा ७९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको वार्षिक कारोबारभन्दा पनि धेरै हो।

बिरगन्ज पर्सामा दर्ता भई सन् २०१३ देखि सञ्चालनमा आएको ओम्नी मोटर्स भारतको प्रसिद्ध व्यावसायिक सवारी उत्पादक कम्पनी भारतबेन्जका ट्रक, टिपर, कन्टेनर, ट्रान्सपोर्टर लगायतका गाडीहरू नेपालभर वितरण गर्दै आएको छ। कम्पनी देशभर ११ वटा शोरुममार्फत आफ्ना गाडीहरू बिक्री गर्दै आएको छ। हाल कम्पनीको अध्यक्ष रजिन्द्र काब्रा छन् भने स्वामित्वमा उनीसहित पाँच जना साझेदार रहेको जनाइएको छ।

ओम्नी मोटर्सको कारोबार २०२१ सम्म उल्लेख्य रूपमा विस्तार हुँदै आएको थियो। २०२१ मा कम्पनीले २ अर्ब १ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो भने २०२२ मा कारोबार झनै बढेर २ अर्ब २८ करोड १० लाख रुपैयाँसम्म पुगेको थियो। तर त्यसपछिको वर्ष २०२३ मा कम्पनीको कारोबारमा ठूलो गिरावट आयो र केवल ६९ करोड ८० लाख रुपैयाँमा सीमित रह्यो।

तर, २०२४ मा भने कम्पनीले केही हदसम्म सुधार गर्दै ७२ करोड ६० लाख रुपैयाँको कारोबार गर्न सफल भएको थियो। त्यसको निरन्तरतासहित २०२५ को पहिलो ९ महिनामै कम्पनीले ७९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ। बाँकी तीन महिनाको कारोबारलाई जोड्दा यस वर्ष कम्पनीको कुल कारोबार अघिल्ला दुई वर्षको तुलनामा उल्लेख्य रूपमा बढ्ने सम्भावना देखिएको छ।

व्यापारिक विस्तारको क्रमसँगै कम्पनीले कर्जा सुविधा विस्तार गर्ने तयारीसमेत अघि सारेको छ। हालै ओम्नी मोटर्सले ९५ करोड ५४ लाख रुपैयाँ बराबरको कर्जा सुविधाका लागि रेटिङ गराएको छ। क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कम्पनीलाई ३८ करोड ५४ लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि ‘एलबी’ र ५७ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘ए फोर’ रेटिङ प्रदान गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*