पुँजी बजारमा रौनकः १४ अर्बको कारोबार, के लगानीकर्ता बैंक र लघुवित्तमा सिफ्ट हुँदै छन् ?

काठमाडौँ । शेयर बजारमा पछिल्ला दुई दिन यता हरियाली देखिएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले पूँजी बजारमा सकारात्मक माहोल बनाएको हो ।
गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पु¥याइएको छ । यस निर्णयले लगानीकर्ताको आत्मविश्वास बढाएको देखिन्छ । यस्तै, नीतिगत दर घटाएर कर्जा सस्तो बनाउने संकेत, लघुवित्त कम्पनीको लाभांशमा रहेको १५ प्रतिशतको क्याप हट्ने अपेक्षाले समेत बजारमा ऊर्जा थपेको छ ।
बैंक तथा वित्तीय संस्थालाई विभिन्न किसिमका राहत दिइएको छ । पहिलोपटक घर किन्नेका लागि ३ करोड रुपैयाँसम्म कर्जाको सुविधा, स्टार्टअप तथा युवा उद्यमीका लागि २ प्रतिशतसम्म ब्याजदरमा कर्जा र विदेश यात्राका लागि लैजान मिल्ने डलर सीमा ३ हजार पु¥याइनुले नीति व्यापक रूपमा स्वागतयोग्य बनेको छ । यसले समग्र अर्थतन्त्रमा तरलता बढाएर आर्थिक चक्रलाई सक्रिय बनाउने अपेक्षा गरिएको छ ।
शेयर बजार सधैँ एउटै दिशामा नचल्ने भए पनि यसपटकको मौद्रिक नीतिले पूँजी बजारमैत्री वातावरण बनाएको विश्लेषकहरूको ठम्याइ छ । लगानी प्रवद्र्धन, कर्जा प्रवाहमा सहजता, तथा संस्थागत मुनाफा वृद्धि जस्ता उपायले दीर्घकालीन रूपमा बजारमा स्थायित्व र वृद्धि ल्याउने अपेक्षा गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.५३ अकंले बढेर २७९७.७१ बिन्दुमा कायम भएको छ । आज ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज १३ वटै उपसूचकमा हरियाली आएको छ । सर्वाधिक नाफा आर्जन गर्नेमा आज विकास बैंकका लगानीकर्ता रहेको छन् । विकास बैंक समूह ३.७१ प्रतिशतले बढेको हो । साथै, वाणिज्य समूह १.७४ प्रतिशत, फाइनान्स समूह ०.७३ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.०४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसदिन १९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको घटेको छ ।












