गाःहिटी पुनःनिर्माण सुरु, छाया सेन्टर भत्काएर ठबही कहिले बन्ला ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक सम्पदाको खोजी र पुनः निर्माणलाई तीब्रता दिएको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले सोही क्रममा काठमाडौं महानगरपालिका–२६ मा अवस्थित ऐतिहासिक गाः हिटीको पुनः निर्माण कार्य अघि बढाएको हो ।
संरचनागत रुपले जीर्ण अवस्थामा रहेको उक्त ऐतिहासिक सम्पदाको महानगरपालिकाले निश्चित बजेट विनियोजन गरी ठमेल गाः हिटी परिवार उपभोक्ता समिति बनाएर पुनः निर्माण भईरहेको छ । काठमाडौं महानगरपालिकाको नेतृत्वमा बालेन्द्र शाहको आगमनसँगै कैयौं दविएर तथा दवायर राखिएका सांस्कृतिक, ऐतिहासिक सम्पदाको खोजी भएर पुनः निर्माणको काम समेत सम्पन्न भैसकेको छ ।
काठमाडौं महानगरपालिकाले ठमेल, नक्साल लगायतका विभिन्न स्थानमा रहेका सांस्कृतिक सम्पदा बचाउने र काठमाडौंको अस्तित्व जोगाउने क्रम जारी रहेको छ । कैयौं स्थानका मासिएका सांस्कृतिक सम्पदाको खोजि भइरहेको अवस्थामा ठमेलमा रहेको ठबहीको पुनः निर्माण तथा यसको खोजि कहिले हुन्छ भन्दै स्थानीयबासीहरुले प्रश्न खडा गरेका छन् ।
ठमेलमा रहेको ऐतिहासिक कमलपोखरी मासेर ठड्याइएको छाया सेन्टरप्रति काठमाडौं महानगरपालिकाको समेत ध्यानाकर्षण भएको छ । शक्ति र शत्ताको आडमा ऐतिहासिक संरचनालाई मासेर ठड्याइएको भवन भत्काउन काठमाडौं महानगरबासीले विभिन्न समयमा आन्दोलन समेत गरीरहेका छन् ।
छायाँ सेन्टर भत्काएर ठबही बनाउँने पर्ने माग सहित सम्पदाप्रेमिहरुले आवाज उठाउदै आएका छन् । आश मारिसकेका स्थानीय बासीहरुमा मेयर बालेन शाहको सम्पदा खोज र पुनः निर्माण अभियानले आश पलाएको छ ।













