बदलिँदै हजारको नोट: सरकारबाट नयाँ डिजाइन अनुमोदित, पौडेलकै हस्ताक्षरमा छपाइ थालिने

काठमाडौं । सरकारले हजार रुपैयाँको नयाँ नोटका लागि प्रस्तावित चित्र र साइजलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकले पेश गरेको नमूना अनुमोदन गर्दै नयाँ नोट छपाइ प्रक्रिया अगाडि बढाउने बाटो खुला गरिदिएको हो ।
राष्ट्र बैंकले नयाँ नोट तयार गर्न प्रारम्भिक काम सम्पन्न गरी उक्त प्रस्ताव अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पठाएको थियो । बैठकले स्वीकृति दिएसँगै नयाँ नोट छपाइको प्रक्रियालाई औपचारिकता मिलेको हो ।
यद्यपि नयाँ नोट बजारमा आउन अझै समय लाग्ने देखिएको छ । राष्ट्र बैंकका अनुसार नोट छपाइका लागि आवश्यक तयारी प्रक्रिया र अन्तर्राष्ट्रिय छपाइ कम्पनीसँगको समन्वयमा झन्डै ६ महिना लाग्ने अनुमान छ ।
नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहने छ ।
नयाँ नोटमा आधुनिक सुरक्षा प्रविधि समेटिने तथा साइजमा पनि केही परिवर्तन गरिने जनाइएको छ । छपाइको परिमाण भने माग तथा वितरणको अवस्था अनुसार पछि निर्धारण गरिनेछ ।












