धराने जनतालाई बीमा सेवाबाट वञ्चित नगर्न मेयर हर्क साम्पाङको आग्रह

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फिररल सेन्टर मात्र मान्न गरिएको आग्रहलाई अस्वीकार बीमा सेवाबाट वञ्चित नगर्न आग्रह गरेका छन् ।
बोर्डलाई पत्र लेख्दै साम्पाङले भनेका छन्, ‘उपरोक्त सम्बन्धमा बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बीमा सुविधाको प्रथम अस्पतालको सूचीमा राख्न र सम्पूर्ण धराने जनतालाई बीमा सेवाबाट वञ्चित नगर्न अनुरोध छ।’
स्वास्थ्य बीमा बोर्डले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा बिन्दुबाट हटाएपछि राजनीतिक दलहरुले पनि यसको विरोध गरेका थिए ।
साउन १ गतेदेखि स्थानीयरजिल्ला अस्पतालबाट सिफारिस लिएर आएका बीमित बिरामीहरूले मात्र प्रतिष्ठानमा बीमा सुविधा पाउने निर्णय गरेपछि धरानमा आन्दोलन सुरु भएको हो । यसअघि प्रतिष्ठान आफैमा प्रथम सेवाबिन्दु अस्पतालको रूपमा कायम थियो ।
धरानमा प्रथम सेवाबिन्दु भएको अस्पताल नभएका कारण रेफर लिन जिल्ला अस्पताल इनरुवा पुग्नुपर्ने बाध्यता भएको छ । स्वास्थ्य बीमा बोर्डको यो निर्णयले धरानवासीहरू समस्यामा परेको भन्दै हिजोबाट आन्दोलन सुरु भएको हो ।











