‘खल्ती बाइ आएमई’को नामबाट आइएमई पे र खल्तीको एकीकृत सेवा शुरू

१ श्रावण २०८२, बिहीबार ०९:५१

काठमाडौं । आइएमई पे र खल्ती वालेट एक आपसमा गाभिएर आजदेखि ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार शुरू गरेको छ। यो एकीकरणपछि दुवै वालेटका कूल १ करोड २७ लाखभन्दा बढी सेवाग्राहीहरू एउटै एपबाट सेवा लिन सक्ने भएका छन्।

मर्जरपछि बनेको ‘आइएमई खल्ती लिमिटेड’ कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी रहेको छ जसले यो नयाँ एपलाई देशकै सबैभन्दा ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक बनाएको छ।

आइएमई पे ब्याज दिने एक मात्र वालेटको रूपमा परिचित थियो र रेमिटेन्स सेवा, इनड्राइभजस्ता एपमा भुक्तानी सुविधाका कारण लोकप्रिय थियो। अर्कातर्फ खल्ती मुभी टिकट, कार्यक्रम टिकट बिक्री तथा युवामैत्री फिचरहरूका कारण युवापुस्तामा रुचाइएको थियो। अब यी दुवै एपका सबै सेवाहरू एकै एपबाट थप परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा उपलब्ध हुने आइएमई खल्तीले जनाएको छन्।

साबिकका आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आइएमई’ मा सजिलै माइग्रेट हुने सुविधा उपलब्ध गरिएको छ जसअन्तर्गत पुराना वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट लगायत सबै विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन्। खल्ती प्रयोगकर्ताहरूले आफ्नो एप अपडेट गरेर नयाँ सुविधा अनुभव गर्न सक्नेछन्।

आइएमई पे आइएमई ग्रुप अन्तर्गत सञ्चालित थियो भने खल्ती चार जना सह–संस्थापकद्वारा स्थापित एप हो जसमा पछिल्लो समय वल्डलिंक, त्रिवेणी ग्रुप जस्ता कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए। आइएमई डिजिटल सोलुसन्सका अध्यक्ष कृष्ण प्रसाद शर्माले यो मर्जरले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने बताए।

खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले यो कदम नेपाली डिजिटल वित्तीय क्षेत्रमा ऐतिहासिक माइलका पत्थर भएको बताउँदै देशभर वित्तीय पहुँच विस्तारमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। प्रमुख कार्यकारी अधिकृत विनय खड्काले आगामी दिनमा डिजिटल पहुँच, साक्षरता र समावेशीकरणमा जोड दिइने जानकारी दिए।

आज आयोजित विशेष कार्यक्रममार्फत दुबै कम्पनीले मर्जरको औपचारिक घोषणा गर्ने कार्ययोजना तय भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*