वित्तीय विवरण प्रकाशनको समय बढ्यो, चौथो त्रैमासिक विवरणका लागि अब ३० दिनको अवधि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय सीमा केही लचक बनाएको छ। केन्द्रीय बैंकले बुधबार एक निर्देशन जारी गर्दै चौथो त्रैमासको विवरण सार्वजनिक गर्नका लागि अब एक महिनासम्मको समय दिएको छ। यसअघि यो विवरण आर्थिक वर्ष सकिएको १५ दिनभित्र प्रकाशित गर्नुपर्ने व्यवस्था थियो।
त्यस्तै, पहिलो, दोस्रो र तेस्रो त्रैमासको विवरण सार्वजनिक गर्ने समयसीमा पनि विस्तार गरिएको छ। अब यी त्रैमासिक विवरणहरू सम्बन्धित त्रैमास सकिएको मितिले १५ दिनभित्र सार्वजनिक गर्नुपर्नेछ। अघिल्लो व्यवस्था अनुसार ७ दिनभित्र प्रकाशित गर्नु पर्ने बाध्यता थियो।
नयाँ निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले एकीकृत वित्तीय विवरण सहित प्रमुख वित्तीय सूचकहरूको अन्तरिम प्रतिवेदन त्रैमासिक अवधिको अन्त्यपछि १५ दिनभित्र कम्तीमा एउटा राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नु पर्नेछ। साथै, सो विवरणको एक प्रति राष्ट्र बैंकको नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागमा पठाउनु पर्नेछ।
यसका साथै, विस्तृत वित्तीय विवरण राष्ट्र बैंकले तोकेको ढाँचामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको वेबसाइटमा अनिवार्य रूपमा राख्नु पर्ने प्रावधान पनि निर्देशनमा स्पष्ट गरिएको छ।













