माथिल्लो सार्दी खोला आयोजनामा एनएमबि बैंकको ४६ करोड ऋण लगानी

काठमाडौँ । एनएमबि बैंक तथा मन्दाकिनी हाइड्रोपावरबीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ । २.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रहने जानकारी गराईएको छ भने बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रहनेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले मन्दाकिनी हाइड्रोपावर लिमिटेडलाई प्रस्तावित माथिल्लो सार्दी खोला जलविद्युत आयोजना तोकिएको लागत र समयसीमाभित्रै सम्पन्न गर्न आग्रह गरेका छन्। उनले आयोजनाको सफल कार्यान्वयनले ऊर्जा क्षेत्रमा थप विश्वास र लगानीको वातावरण सृजना हुने बताएका थिए।
बैंकको आग्रहप्रति प्रतिक्रिया दिँदै मन्दाकिनी हाइड्रोपावरका अध्यक्ष शरद कुमार दाहालले वित्तीय व्यवस्थापनमा सहयोग पुर्याएकोमा एनएमबि बैंकलाई धन्यवाद व्यक्त गरे। उनले माथिल्लो सार्दी खोला जलविद्युत आयोजना समयसीमा र लागतभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यसका लागि स्थानीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने जानकारी दिए।
माछापुच्छ्रे गाउँपालिका, कास्कीमा प्रवर्द्धन गरिएको ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना विसं २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादनमा आइसकेको छ। उक्त आयोजनामा पनि एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरणमार्फत ऋण लगानी गरिएको छ। एनएमबि बैंकले जलविद्युत क्षेत्रमा दिगो वित्तीय संरचना विकासमा भूमिका निर्वाह गर्दै आएको छ।













