सुनचाँदी खरिदबिक्रीमा आजदेखि लाग्यो विलासिता कर

काठमाडौँ । आजदेखि सुनचाँदीको कारोबारमा विलासिता कर र हीरा–रत्नमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको छ । आर्थिक ऐनमार्फत सरकारले गरेको व्यवस्थाअनुसार अब सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीरा–रत्नका कारोबारमा १३ प्रतिशत भ्याट लाग्न सुरु भएको हो ।
यसअघि १० लाख रुपैयाँभन्दा बढीको कारोबारमा मात्र यस्तो कर लाग्ने व्यवस्था थियो । तर आर्थिक वर्ष २०८१/८२ को बजेटसँगै जुनसुकै मूल्यमा गरिने कारोबारमा समेत यो कर लाग्ने भएको हो । यसले साना र मझौला स्तरका ग्राहकलाई समेत प्रत्यक्ष असर पार्ने देखिन्छ ।
करको दायरामा अब सुनचाँदी कारोबारको सबै तह समेटिएका छन् । बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा व्यवसायीले ग्राहकलाई बेच्दा तथा ग्राहकले पुनः व्यवसायीलाई बेच्दा पनि प्रत्येक चरणमा कर लाग्नेछ । यसले गर्दा एउटै सुनको गहना तीनपटक करको दायरामा पर्ने अवस्था आएको छ ।
सरकारको तर्फबाट कर प्रणाली कार्यान्वयनको तयारी भए पनि व्यवसायी भने खुलेर असहमति जनाइरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यले बुधबार आन्तरिक राजस्व विभागका महानिर्देशकलाई पत्र लेख्दै आफूहरूले हालको अवस्थामा यस्तो कर कार्यान्वयनमा सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन् ।
व्यवसायीहरूको भनाइमा यस्तो करले औपचारिक बजार झनै सङ्कुचित बनाउनेछ भने अवैध तस्करीलाई प्रोत्साहन गर्नेछ । उनीहरूका अनुसार हाल सुनचाँदीको व्यापार नै घट्दो क्रममा छ यस्तो अवस्थामा थप करले व्यवसायी र उपभोक्ता दुवैलाई मारमा पार्नेछ ।
यसअघि व्यवसायीहरूले कर खारेजीको माग गर्दै आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा सरकारसँग ‘समस्या समाधान गर्ने’ सहमति भएपछि संघर्षका कार्यक्रमहरू रोकिएको थियो । तर सरकारको तर्फबाट ऐन संशोधन गरेर कर फिर्ता लिने कुनै प्रक्रिया अघि नबढाइएको व्यवसायीहरूको गुनासो छ ।













