आइएमई पे र खल्ती गाभिए: ‘खल्ती बाइ आइएमई’ एपमार्फत १ करोड २७ लाख उपभोक्तालाई सेवा

काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा क्षेत्रमा एक ऐतिहासिक कदम स्वरूप ‘आइएमई पे’ र ‘खल्ती’ वालेट एक आपसमा गाभिएर ‘खल्ती बाइ आइएमई’ नाममा आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। बिहीबार काठमाडौंको याक एन्ड यति होटलमा आयोजित एक भव्य समारोहमार्फत उक्त एकीकरणको औपचारिक घोषणा गरिएको हो।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र प्रमुख अतिथिका रूपमा सहभागी रहे। साथै, आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, विभिन्न बैंक तथा बीमा कम्पनीका प्रमुखहरू, वित्तीय क्षेत्रका विश्लेषकहरू, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नयाँ एकीकृत कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को सञ्चालक समिति गठन भइसकेको छ, जसको अध्यक्षतामा कृष्ण प्रसाद शर्मा छन्। अन्य सञ्चालकहरूमा दिवाकर पौडेल, सिताराम थापा, प्रबिन रेग्मी, अमित अग्रवाल, अर्भिन्द साह र मनिष मोदी रहेका छन्।
यो एकीकरणपछि ‘खल्ती बाइ आइएमई’ कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। सेवाको दायरामा हेर्दा यो एप नेपालकै सबैभन्दा ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक बनेको कम्पनीले जनाएको छ। आइएमई पे र खल्ती दुबैको ग्राहक संख्यालाई एकीकृत गर्दा हाल ‘खल्ती बाइ आइएमई’ को सेवा १ करोड २७ लाखभन्दा बढी नेपाली उपभोक्तासम्म पुग्ने भएको छ।
आइएमई पे पहिले ब्याज दिने एक मात्र डिजिटल वालेटको रूपमा परिचित थियो। साथै, यसले रेमिटेन्स सेवा र इनड्राइभजस्ता तेस्रो पक्षीय एपमा सहज भुक्तानी सुविधा उपलब्ध गराएर आम प्रयोगकर्तामाझ लोकप्रियता हासिल गरेको थियो। अर्कातर्फ, खल्ती वालेटले मुभी टिकट, कार्यक्रमको टिकट बिक्री तथा युवामैत्री फिचरहरूका कारण विशेषगरी युवापुस्तामा ठूलो लोकप्रियता कमाएको थियो।

अब यी दुवै एपका सेवा र विशेषता एकीकृत गरी अझ आधुनिक, सुरक्षित र सहज सेवा प्रदान गर्ने लक्ष्यसहित ‘खल्ती बाइ आइएमई’ को विकास गरिएको हो। कम्पनीका अनुसार नयाँ एप एकैचोटि सबै प्रकारका भुक्तानी, रेमिटेन्स, लोन, बीमा, टिकटिङ, युटिलिटी बिल, मर्चेन्ट भुक्तानी लगायतका सेवामा उत्कृष्ट समाधान दिनेछ।
साबिकका आइएमई पे प्रयोगकर्ताहरूका लागि नयाँ एपमा सहज माइग्रेशन सुविधा दिइएको छ। त्यसअनुसार, उनीहरूको पुरानो वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्टलगायत सम्पूर्ण विवरण स्वतः नयाँ एपमा स्थानान्तरण हुनेछ। खल्ती प्रयोगकर्ताहरूका लागि पनि एप अपडेटमार्फत नयाँ फिचरहरू सहितको सेवा लिन सकिने व्यवस्था मिलाइएको छ।
कार्यक्रममा बोल्दै कम्पनीका पदाधिकारीहरूले डिजिटल नेपालको अवधारणामा आधारित भएर सेवा सुधार र नवप्रवर्तनमार्फत ‘खल्ती बाइ आइएमई’ लाई दक्षिण एशियाकै उत्कृष्ट फिनटेक ब्रान्ड बनाउने लक्ष्य रहेको उल्लेख गरे।
उनीहरूले सेवा विस्तार मात्र नभई वित्तीय पहुँच अभिवृद्धि गर्दै ग्रामीण तथा सुदूर क्षेत्रमा समेत डिजिटल भुक्तानी प्रणाली सहज बनाउने योजनामा केन्द्रित रहेको जानकारी दिए।
‘खल्ती बाइ आइएमई’ को यो यात्रा नेपालको डिजिटल अर्थतन्त्रको विकासमा एउटा ठुलो कदमको रूपमा लिइएको छ। प्रयोगकर्ता संख्या, सेवा क्षेत्र, नवप्रवर्तनशील उत्पादनहरू र व्यवसायिक दृष्टिकोणका हिसाबले कम्पनीले आफूलाई बजारको अग्रपङ्तिमा उभ्याएको छ।
यस एकीकरणले डिजिटल भुक्तानी क्षेत्रको प्रतिस्पर्धा मात्र बढाएको छैन, उपभोक्तालाई एउटै एपबाट सबै सेवा प्रयोग गर्न सक्ने एकीकृत समाधान प्रदान गरी डिजिटल ट्रान्जेक्सनलाई अझ विश्वासिलो बनाएको छ।












