नेप्सेको मार्केट डेप्थमा अड लट शेयरको अर्डर पनि देख्न सकिने, लगानीकर्तालाई राहत

१ श्रावण २०८२, बिहीबार १३:३४

काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आम लगानीकर्ताको मागलाई सम्बोधन गर्दै साउन १ गतेदेखि अड लट आदेशहरू आफ्नो वेबसाइटको मार्केट डेप्थमा देखिने व्यवस्था लागू गरेको छ। अबदेखि लगानीकर्ताहरूले नेप्सेको वेबसाइटमा दैनिक रुपमा अड लट खरिद तथा विक्री आदेशको जानकारी प्राप्त गर्न सक्नेछन्।

नेप्सेले यस्तो निर्णय गरेपछि अड लटमा धितोपत्र रहेको तर बोर्ड लटका लगानीकर्ताको आदेश देखिने व्यवस्था नहुँदा किनबेच गर्न नसकेको भन्ने लगानीकर्ताको पुरानो गुनासो सम्बोधन हुने अपेक्षा गरिएको छ।

धितोपत्र कारोबार विनियमावली, २०७५ अनुसार धितोपत्रको अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता, १०० रुपैयाँ भएमा १० कित्ता, र १००० रुपैयाँ भएमा एक कित्ताको कारोबारलाई बोर्ड लट भनिन्छ। सोभन्दा कम परिमाणमा हुने कारोबारलाई अड लट भनिने व्यवस्था छ।

विनियमावलीले अड लट कारोबारलाई मूल्य परिवर्तन सीमा तथा बजार परिसूचकको गणनामा समावेश नगरिने उल्लेख गरेको छ। साथै, बोर्ड लटमा भएको धितोपत्रलाई टुक्र्याएर अड लट बनाउन नपाइने प्रावधान पनि विनियमावलीमा छ।

नेप्सेले अड लट कारोबारलाई वेबसाइटमार्फत थप पारदर्शी बनाउने प्रयाससँगै साना तथा खुद्रा लगानीकर्ताको पहुँच सहज हुने र बजारमा अड लटका धितोपत्रलाई पनि व्यवहारिक रुपमा खरिदबिक्री गर्न सकिने वातावरण तयार हुने विश्वास लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*