सबै बीमा कम्पनीहरुमा प्राधिकरणको दौडाहा टोली, विवरण सकंलन हुँदै

काठमाडौं । बीमा प्राधिकरणले आर्थिक बर्ष २०८१।०८२ सकिएर नयाँ आर्थिक वर्ष २०८२।०८३ को आज पहिलो दिन हो । आज पहिलो दिन बीमा प्राधिकरणको दौडाहा टोली नेपालमा सञ्चालित ३७ वटै बीमा कम्पनीमा पुगेको छ ।
केही बर्षअघिसम्म नेपालको बीमा क्षेत्रमा रहेको ब्याक डेटेड बीमा पोलिसी जारी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सुरु गरिएको आर्थिक वर्षको पहिलो दिनमा कारोबार सम्बन्धी तथ्याङ्क संकलन गर्न दौडाहा टोली खटिएको हो ।
प्राधिकरणले आजै सबै बीमा कम्पनीहरुमा पुगेर विवरण संकलन गरिरहेको छ । प्राधिकरणले बीमा कम्पनीमा स्थलगत अनुगमनका लागि टोलि नै खटाएर आव २०८१।०८२ मा भएको कूल कारोबारसहितका विवरण संकलन भइरहेको छ ।
व्याकडेटमा पोलिसी बिक्री भए/नभएकोदेखि लिएर कम्पनीका अस्वस्थ प्रतिस्पर्धालाई समेत नियाल्ने छ । कम्पनीहरुले बीमा प्राधिकरणमा पठाएको वित्तिय विवरण म्याच नभएमा सो अनुसार निगरानी गर्ने र ऐन बमोजिम कारावाहीको प्रकृया समेत अघि बढाउनको लागि दौडाहा टोली खटिएको हो ।
गत आर्थिक वर्षमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्क, दाबी भुक्तानी, कर्मचारी विवरण, सफ्टवेयर प्रणाली लगायतबाट विवरण टिपोट गर्ने छ । आज टिपोट गरिएका विवरणमा केहि तल–माथि भयो भने प्राधिकरणले सजिलै थाहा पाउने छ ।













