अब क्यासिनो खोल्न ३० करोड चुक्ता पुँजी अनिवार्य, चारतारे होटलमा पनि विस्तारको बाटो खुल्यो

काठमाडौं । अब नेपालमा क्यासिनो सञ्चालन गर्नका लागि न्यूनतम ३० करोड रुपैयाँ चुक्ता पुँजी अनिवार्य गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘क्यासिनो नियमावली, २०८२’ जारी गर्दै नयाँ मापदण्ड सार्वजनिक गरेको हो । यसअघि २०७० को नियमावली अनुसार क्यासिनो खोल्नका लागि २५ करोड रुपैयाँ चुक्ता पुँजी आवश्यक थियो ।
नयाँ नियमावली अनुसार हाल सञ्चालनमा रहेका क्यासिनो कम्पनीहरूले २०८५ सालको चैत मसान्तभित्र ३० करोड चुक्ता पुँजी पुर्याइसक्नुपर्नेछ ।
यससँगै अबदेखि अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट पाँच किलोमिटरको दूरीमा मात्रै क्यासिनो खोल्न पाइनेछ । यसअघि तीन किलोमिटरको सीमा तोकिएको थियो । नयाँ व्यवस्था अनुसार यस्तो स्थानमा क्यासिनो खोल्न सुरक्षासम्बन्धी कागजात पेश गर्नुपर्नेछ भने जिल्ला सुरक्षा समितिको सिफारिस समेत आवश्यक पर्नेछ । क्यासिनो स्थलमा कम्तीमा २० जना तालिमप्राप्त सुरक्षा कर्मचारी अनिवार्य रहने व्यवस्था गरिएको छ ।
चारतारे वा सो भन्दा माथिल्लो श्रेणीका होटल वा रिसोर्ट परिसरभित्र क्यासिनो खोल्न पाउने व्यवस्था गरिएको छ । यसअघि यस्तो अनुमति पाँचतारे होटल वा डिलक्स रिसोर्टलाई मात्र दिइन्थ्यो । तर, अब एक होटलमा एउटा मात्र क्यासिनो सञ्चालन गर्न पाइनेछ ।
नयाँ नियमावलीले क्यासिनो सञ्चालनका लागि विभिन्न पूर्वाधार र प्रविधि अनिवार्य बनाएको छ । जसअनुसार विद्युतीय निगरानी प्रणाली, ४० हर्स पावर बराबरको आगो नियन्त्रण उपकरण, कम्तीमा ६ महिना सीसीटिभी फुटेज राख्न सकिने क्षमता, ग्राहक पहिचान प्रणाली (केवाईसी) र मनी लाउन्डरिङ्गसम्बन्धी व्यवस्थाहरू अवलम्बन गर्नुपर्नेछ । साथै, प्रवेश गर्ने व्यक्तिको सुरक्षा जाँच बायोमेट्रिक प्रणालीमार्फत गर्नुपर्नेछ ।
कम्पनीसँग कम्तीमा ५ वटा आफ्नै सवारीसाधन हुनुपर्ने र ट्राभल एजेन्सीसँग आवश्यक परे सवारी भाडामा लिनसक्ने सम्झौता भएको प्रमाण पेश गर्नुपर्नेछ । क्यासिनो स्थलको सजावट अन्तर्राष्ट्रिय अभ्यास अनुसार गर्नुपर्नेछ ।
इजाजतपत्रको लागि ठूलो क्यासिनोले १५ लाख र सानो क्यासिनोले १० लाख रुपैयाँ निवेदन दस्तुर बुझाउनुपर्नेछ । इजाजतपत्र दस्तुर ठूलो क्यासिनोका लागि तीन करोड र सानो क्यासिनोका लागि डेढ करोड रुपैयाँ तोकिएको छ । नवीकरण शुल्क पनि क्रमशः १ करोड ५० लाख र ७५ लाख रुपैयाँ तोकिएको छ ।
नियमावलीले क्यासिनो सञ्चालन कम्पनीलाई स्पष्ट निगरानीमा राख्ने प्रावधान पनि गरेको छ । जस्तै, क्यासिनोले खेलाडीलाई ऋण वा सापटी दिन पाउने छैन । त्यस्तै, कुनै पनि प्रकारको प्रचार, प्रसार वा विज्ञापन गर्न निषेध गरिएको छ ।
विदेशी नागरिकले मात्रै क्यासिनोमा खेल्न पाउने छन् । तर, सञ्चालक, कर्मचारी, नियमनकारी निकायका निरीक्षक वा अनुगमनमा खटिएका अधिकारीहरूलाई भने प्रवेश अनुमति दिइनेछ । क्यासिनोमा प्रवेश गर्ने खेलाडीको परिचयका लागि राहदानी, आधार कार्ड, मतदाता परिचयपत्र, रासन कार्ड वा सम्बन्धित दूतावासले जारी गरेको परिचयपत्र मध्ये कुनै दुई अनिवार्य रहनेछ ।
क्यासिनोबाट जितिएको रकम तिर्दा प्रचलित कानुन अनुसार आकस्मिक लाभकर कट्टा गरेर मात्र भुक्तानी दिनुपर्नेछ र सो कर सोही दिन आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेछ ।
क्यासिनो स्थलमा २४ घण्टाभित्र कुनै एक खेलाडीले २५ लाख रुपैयाँभन्दा बढी हार–जित गरेको वा शंकास्पद कारोबार देखिएमा सोको जानकारी पर्यटन विभाग तथा राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा तुरुन्त दिनुपर्नेछ ।
रोजगारीको हिसाबले ठूलो क्यासिनोले कम्तीमा १५० नेपाली नागरिक र सानो क्यासिनोले ५० जनालाई रोजगारी दिनुपर्नेछ ।













