नेप्सेले २०८१/८२ मा तोड्यो सबै रेकर्ड: वर्षदिनमा कारोबार २१ खर्ब, बजार पुँजीकरण ३१.०५ प्रतिशतले वृद्धि

१ श्रावण २०८२, बिहीबार १७:१२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले गत आर्थिक वर्ष २०८१।८२ मा नेपालमा धितोपत्रको दोस्रो बजार कारोबारले ऐतिहासिक रेकर्ड कायम गरेको जानकारी दिएको छ। नेप्सेले एक विज्ञप्ति जारी गर्दै कारोबार रकम, बजार पुँजीकरण, सूचीकृत कम्पनीको संख्या तथा सूचीकृत धितोपत्रको पक्षमा उल्लेख्य सुधार देखिएको हो ।

तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा कुल कारोबार रकम ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ रहेकोमा २०८१।८२ मा त्यो रकम झण्डै तीनगुणा वृद्धि भई २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यो वृद्धि अघिल्लो वर्षको तुलनामा १८९.२३ प्रतिशतले बढी हो ।

कारोबारको हिसाबले यस वर्ष इतिहासमै सबैभन्दा उत्कृष्ट वर्ष बनेको छ । यसअघि आर्थिक वर्ष २०७७।७८ मा सबैभन्दा धेरै कारोबार भएको थियो, जसमा कारोबार रकम १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, बजार पुँजीकरणको पक्षमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । आर्थिक वर्ष २०६१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ को असार मसान्तसम्म आइपुग्दा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

धितोपत्र बजारमा संलग्न कम्पनीहरूको संख्या पनि बढेको देखिएको हो। आर्थिक वर्ष २०८१।८२ को अन्त्यसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । यस वर्ष मर्जर तथा एक्विजिसन प्रक्रियाका कारण ३ वटा कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन मार्फत ४ वटा नयाँ कम्पनी सूचीमा थपिएका छन् ।

उक्त वर्षमा सूचीकृत धितोपत्रको संख्या पनि उल्लेखनीय रुपमा बढेको छ । नेप्सेमा उपलब्ध विवरण अनुसार प्रथम सार्वजनिक निष्कासन मार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासन मार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकार तथा स्थानीयलाई वितरण गरिएका ४ करोड ३२ लाख ५८ हजार कित्ता सेयर, सामुहिक लगानी कोष (म्युचुअल फण्ड) का ३७ करोड ८१ लाख एकाई र संस्थागत ऋणपत्र (डेबेन्चर) ८३ लाख कित्ता समेत गरी कुल ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्रहरू सूचीकृत भएका छन् ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले २०८१।८२ मा भएको यो उत्साहजनक कारोबारमा साथ दिने सबै निकाय र व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरेको छ । नेप्सेले नेपाल सरकारको अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, अन्य नियामक निकाय, कारोबार सदस्य, सूचीकृत कम्पनीहरू, मर्चेन्ट बैंकर, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, लगानीकर्ता, सञ्चारकर्मी तथा सम्पूर्ण पुँजी बजारसँग सम्बन्धित सरोकारवालाहरूलाई आभार प्रकट गर्दै आगामी दिनमा अझ पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बजार निर्माण गर्न सबैको सहयोग अपेक्षा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*