औद्योगिक क्षेत्र व्यवस्थापनको ३८ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट उद्योग सम्मानित

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । लिमिटेडका अध्यक्ष बाबुराम पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रमको सम्बोधन गदै मन्त्री भण्डारीले सरकार औद्योगिक पूर्वाधार विकासमा बाधक नभई साधक बन्ने बताए । उनले आर्थिक उद्यमशीलता भएका स्थानमा रोजगारी सिर्जना हुने उल्लेख गर्दै सरकारले औद्योगिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए ।
लिमिटेडले गरिरहेका कामहरू अझ प्रभावकारी बनाउन एक साताभित्र आगामी वर्षको कार्ययोजनासहित मन्त्रालयमा उपस्थित हुनू, मन्त्री भण्डारीले निर्देशन दिए । उनले वार्षिकोत्सव नयाँ आर्थिक वर्षको सुरुवातमै पर्नुले आगामी योजना बनाउन सहज भएको बताए ।

मन्त्री भण्डारीले सबै सरकारी संस्थानहरूको कार्यशैली अझ परिणाममुखी हुनुपर्ने आवश्यकता औँल्याउँदै, निजी क्षेत्रको सुझावसहित लिमिटेड, मन्त्रालय र निजी क्षेत्रबीच सामूहिक अन्तरक्रिया आयोजना गरिने जानकारी दिए । उनले गुणस्तरहीन वस्तुको आयात रोक्न र स्वदेशी उत्पादनको निर्यात प्रवद्र्धन गर्न सरकार व्यवसायीको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।
उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले औद्योगिक क्षेत्रलाई सूचना प्रविधिसँग जोडेर आधुनिक, नवीन र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रसँग सहकार्य अपरिहार्य भएको बताए ।
बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अध्यक्ष बाबुराम पन्तले औद्योगिक प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढिरहेको संस्थाको कार्यदिशा प्रस्तुत गरे । कार्यक्रममा विभिन्न औद्योगिक क्षेत्रमा योगदान पुर्याउने उत्कृष्ट कर्मचारी र सफल उद्योगलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो ।













