एक वर्षमा ६४ अर्बको वैदेशिक लगानी स्वीकृत, सूचना प्रविधिमा सबैभन्दा बढी कम्पनी दर्ता

काठमाडौं । नेपालमा पछिल्लो एक वर्षमा ६४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योग विभागको तथ्यांकअनुसार २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्मको अवधिमा ८४० वटा नयाँ उद्योगले वैदेशिक लगानी स्वीकृति पाएका छन् ।
विभागले ५० करोड रुपैयाँसम्मको लगानी अटोमेटिक रुटबाट र सोभन्दा माथिको लगानी म्यानुअल रुटमार्फत उद्योग दर्ता गर्दै आएको छ । रकमको आधारमा सबैभन्दा बढी लगानी सेवा क्षेत्रमा केन्द्रित देखिएको छ । कुल स्वीकृत लगानीमध्ये ४८ प्रतिशत सेवा क्षेत्रका उद्योगले पाएका छन् भने पर्यटन क्षेत्रमा ४१ प्रतिशतले स्वीकृति पाएका छन् ।
त्यसैगरी उत्पादनमूलक क्षेत्रमा ६ प्रतिशत, सूचना प्रविधि क्षेत्रमा ३ प्रतिशत, र कृषि क्षेत्रमा २ प्रतिशतले विदेशी लगानी स्वीकृति पाएका छन् ।
उद्योग संख्याको आधारमा भने सूचना प्रविधिमा सबैभन्दा बढी कम्पनी दर्ता भएका छन् । यस अवधिमा ३८२ वटा सूचना प्रविधिमूलक कम्पनीले वैदेशिक लगानीको स्वीकृति पाए भने पर्यटनसँग सम्बन्धित ३०४ कम्पनी, उत्पादनमूलक क्षेत्रमा ५५, कृषि क्षेत्रमा १२, सेवा क्षेत्रमा ८४, पूर्वाधार क्षेत्रमा २ र ऊर्जा क्षेत्रमा १ कम्पनीले विदेशी लगानी भित्र्याएका छन् ।
विभागका अनुसार २०८१/८२ मा मात्र २ हजार २८५ जना वैदेशिक लगानीकर्ता व्यवसायिक भिसामा नेपाल आएका छन् । यस्तै, कम्पनी प्रतिनिधि ४०८ जना र डिपेन्डेन्ट भिसामा ९१५ जना नेपाल प्रवेश गरेका छन् ।
हालसम्म विभागले ५ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृति दिइसकेको छ । यस अन्तर्गत ७ हजार २३९ उद्योगहरू छन् । ती उद्योगहरूले हालसम्म एक वर्षको अवधिमा मात्र ९ अर्ब ६१ करोड रुपैयाँ रोयल्टी बापत विदेशी कम्पनीहरूलाई तिरेका छन् ।













