कामना सेवा विकास बैंकको नाफासँगै बढ्यो ईपीएस, वितरणयोग्य नाफा ६० करोडमाथि

२ श्रावण २०८२, शुक्रबार ०८:१३

काठमाडौं । चालू आर्थिक वर्ष सकिएको दुई दिनमै कामना सेवा विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। यससँगै बैंक चालू आवको चौथो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो संस्था बनेको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ९.१९ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको असार मसान्तसम्म ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्षको सोही अवधिमा ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ७३ पैसाले बढेको छ। गत वर्ष बैंकको ईपीएस १७.७३ रुपैयाँ रहेकोमा चालू आवमा बढेर १८.१० रुपैयाँ कायम भएको छ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब १३ करोड २५ लाख रुपैयाँ रहेकोमा चालू आवमा ५.२५ प्रतिशतले बढेर २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी पनि २ अर्ब ५२ करोड ६८ लाख रुपैयाँबाट बढेर २ अर्ब ६३ करोड २६ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै बैंकको सञ्चालन नाफा गत वर्ष ९६ करोड ७८ लाख रुपैयाँ रहेकोमा यस वर्ष झण्डै २ प्रतिशतले बढेर ९८ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ३ अर्ब ५१ करोड रुपैयाँ पुगेको यस बैंकको जगेडा कोषमा ६० करोड ७४ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ सञ्चिति रहेको छ।

गत वर्ष ३.३६ प्रतिशत रहेको खराब कर्जा यस वर्ष सामान्य बढेर ३.३८ प्रतिशत पुगेको छ। बैंकले ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेर ६२ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

गत वर्ष बैंकको कुल वितरणयोग्य नाफा ४१ करोड १२ लाख रुपैयाँ रहेकोमा यस वर्ष बढेर ६० करोड ७४ लाख रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६८.१३ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*