नेपाल एयरलाइन्सले तिर्यो ७ अर्ब ९२ करोड रुपैयाँ ऋण

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कूल ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ ऋणको किस्ता भुक्तानी गरेको छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि लिएको ऋण आंशिक रूपमा चुक्ता गर्दै आएको हो।
निगमका प्रवक्ता सुवास डाँगीका अनुसार उक्त भुक्तानी नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट लिइएको ऋण किस्ताको रूपमा गरिएको हो। भुक्तानी गरिएको रकममध्ये न्यारो बडी जहाज खरिद ऋणको सम्पूर्ण किस्ता तिरिएको छ भने वाइड बडी जहाजको ऋणको आंशिक किस्ता तिर्इएको जानकारी दिइएको छ।
निगमका अनुसार ‘जहाज खरिदसम्बन्धी ऋण दायित्व’ शीर्षकमा २०८२ असार मसान्तसम्म जम्मा ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार रुपैयाँ बराबरको किस्ता रकम भुक्तानी भइसकेको छ। निगमले हाल ऋण दायित्व घटाउनेतर्फ ध्यान केन्द्रित गर्दै आएको छ।
यसअघि निगमले जहाज खरिदसम्बन्धी ऋण भुक्तानीमा ढिलासुस्तीका कारण आलोचना खेप्नुपरेको थियो। तर पछिल्लो समय नियमित किस्ता भुक्तानी हुन थालेको छ।












