एनआईसी एशिया बैंकको वित्तीय अवस्था कमजोर, रेटिङ घट्यो

२ श्रावण २०८२, शुक्रबार ११:५८

काठमाडौँ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) ले एनआईसी एशिया बैंक लिमिटेडको रेटिङ पुनः घटाएको छ। बैंकको रेटिङ आईआरएन ट्रिपल बी प्लस (इश्युअर) बाट घटाएर आईआरएन ट्रिपल बी (इश्युअर) मा झारिएको हो।

यो रेटिङ निर्णयले बैंकको समग्र वित्तीय अवस्था र भविष्यको सम्भावित जोखिमप्रति गम्भीर संकेत गरेको छ। रेटिङ घटेसँगै बैंकको रेटिङ नकारात्मक प्रभावसहितको निगरानीमा राखिएको छ। हाल रेटिङको थप समीक्षा जारी रहेको र बैंकका वित्तीय सूचकाङ्कहरू, जोखिम व्यवस्थापन र व्यवस्थापकीय निर्णयहरूका आधारमा आगामी दिनमा रेटिङमा फेरबदल हुनसक्ने संकेत इन्फोमेरिक्स नेपालले जनाएको छ।

इन्फोमेरिक्सका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा बैंकको नाफामा झण्डै ८५ प्रतिशतको गिरावट आएको छ। कुल आम्दानी स्थिर (०.५ प्रतिशतले घटेको) रहँदा बैंकको ऋण पुस्तिकामा बढ्दो जोखिमका कारण इम्पेयरमेन्ट चार्ज ३५३ प्रतिशतले उकालो लागेको देखिन्छ। यही कारण बैंकको ग्रस गैर-कामकाजी सम्पत्ति अनुपात (जीएनपीए) ०.८८ प्रतिशतबाट बढेर ३.४५ प्रतिशत पुगेको हो। गत आर्थिक वर्षको पहिलो छ महिनामा यो अझै बढेर ४.६१ प्रतिशत पुगेको छ, जुन अत्यन्तै चिन्ताजनक मानिन्छ।

यसका साथै, ० दिनभन्दा बढी बाँकी ऋण (डिलिक्वेन्सी) ८.७८ प्रतिशत पुगेको छ भने नेट एनपीएल टु ट्याङ्जिबल नेट वर्थ १३.९९ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्ष १.०६ प्रतिशत मात्र थियो। बैंकको पुँजीगत स्थितिमा पनि कमजोरी देखिएको छ, जहाँ पुँजी पर्याप्तता अनुपात (सीएआर) ११.०३ प्रतिशत र कोर इक्विटी टियर–१ अनुपात (सीईटी–१) ८.२९ प्रतिशतमा सीमित भएको छ। यो नियामक निकायले तोकेको न्यूनतम सीमासँग लगभग ठोक्किएको अवस्था हो, जसले बैंकको ऋण विस्तार गर्ने क्षमता निकै सिमित बनाएको छ।

बैंकको निक्षेप र कर्जा दुवै घटेका छन्। गत आर्थिक वर्षको पहिलो अर्धवार्षिकमा बैंकको कर्जा करिब १३ प्रतिशतले र निक्षेप ८ प्रतिशतले खुम्चिएको छ। उच्च प्रतिफल दिने लगानी अवसरमा निक्षेप पुनः लगानी गर्न नसक्दा र सरकारी धितोपत्रमा लगानी केन्द्रित हुँदा नेट इन्ट्रेस्ट मर्जिन ३.३९ प्रतिशतबाट घटेर २.७८ प्रतिशतमा झरेको छ। चालु तथा बचत खाताको हिस्सा (सीएएसए अनुपात) ३९ प्रतिशतबाट घटेर २८ प्रतिशतमा सिमित भएको देखिन्छ।

यद्यपि बैंकको व्यवस्थापन, भौगोलिक विस्तार तथा जोखिमरहित लगानी रणनीति जस्ता पक्ष सकारात्मक छन्। बैंकसँग देशभर ३६० शाखा र ११७ एक्सटेन्सन काउन्टर छन्, जसले ग्राहक सञ्जाल बलियो बनाएको छ। तर यी संरचनात्मक बलमाथि टिक्ने भर परेको देखिन्छ, जब बैंकको मौलिक वित्तीय सूचकहरू खस्कँदै छन्। अब बैंकले आफ्नो नाफा, ऋण असुली क्षमता र पुँजी स्थितिमा शीघ्र सुधार गर्न नसके रेटिङ अझ खस्किने खतरा कायमै छ।

हाल सार्वजनिक भएका प्रारम्भिक तथ्यांकहरूबाटै बैंकको वित्तीय अवस्था कमजोर देखिएको छ भने अझै गम्भीर स्थिति आगामी दिनमा खुल्न सक्ने अनुमान छ। बैंकले गत आर्थिक वर्षको पूर्ण विवरण केही दिनमै सार्वजनिक गर्ने तयारीमा रहेको जनाइएको छ । सो विवरणमा बैंकको नाफा, ऋण असुली क्षमता, सम्पत्ति गुणस्तर तथा पुँजीगत अवस्था झनै संकटमा रहेको यथार्थ थप स्पष्ट हुने संकेत मिलेको छ। प्रारम्भिक सूचकहरूले नै गहिरो दबाव झल्काइरहेकाले पूर्ण विवरणले बैंकको वित्तीय संकटलाई औपचारिकरूपमा पुष्टि गर्ने सम्भावना उच्च देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*