भ्रष्टाचार र सम्पत्ति छानबीनको मागसहित राप्रपा अख्तियार र सम्पत्ति शुद्धीकरण विभाग जाने
२ श्रावण २०८२, शुक्रबार १२:२२

काठमाडौं । सबै प्रकारका भ्रष्टाचार र उच्च पदस्थ व्यक्तित्वको सम्पत्ति छानबीनको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग जाने भएको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज साउन २ गते ठूलाठूला नेता र राजनीतिक नेतृत्व समेत मुछिएको भ्रष्टाचारको निष्पक्ष छानबीनका लागि घचघच्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने बताएका हुन्।
उनले सहयोगी र कार्यकर्तालाई दिउँसो १ बजे अख्तियारको मुख्य कार्यालय रहेको टंगालमा बोलाएका छन्।
त्यसैगरी वि.स २०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका नातेदारहरूको समेत सम्पत्ति विवरण छानबीनको माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग जाने लिङ्देनले बताएका हुन्।











