राष्ट्र बैंकको उदार नीतिले पुँजी बजारमा रौनक: लगानीकर्ता मख्ख, यी कारणले चुम्ने छ नयाँ उचाई!

काठमाडौँ । पछिल्लो समय नेपालको शेयर बजार उत्साहजनक मोडमा पुगेको छ । गत आर्थिक वर्ष २०८१।८२ मा नेपालमा धितोपत्रको दोस्रो बजार कारोबार रकम, बजार पुँजीकरणले नयाँ रेकर्ड राखेकोमा चालु आर्थिक वर्ष २०८२।०८३ मा थप रौकन आउने देखिएको हो । चालु आर्थिक वर्षमा राष्ट्र बैंकको मौद्रिक नीतिले शेयर बजारमा नयाँ ऊर्जा थपेको छ ।
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले शेयर बजारप्रति देखाएको उदार दृष्टिकोण, बैंक तथा वित्तीय संस्थाहरूका लागि लचिलो व्यवस्था र लगानीकर्ताका माग सम्बोधनले बजारमा सकारात्मक सन्देश दिएको छ । यसले गर्दा नेप्से सूचकमा उल्लेखनीय उछाल आएको छ भने लगानीकर्ताबीच आशावाद फैलिएको छ ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यक्तिगत शेयर धितो कर्जाको सीमा १० करोडले वृद्धि गरी १५ करोडबाट २५ करोड रुपैयाँ पु¥याइएको छ । यो निर्णय लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको मागहरूमध्ये प्रमुख थियो । यससँगै बैंक तथा वित्तीय संस्थाहरूले पनि आवश्यक परे हकप्रद शेयर जारी गरेर पूँजी वृद्धि गर्न सक्ने छुट पाएका छन् । यी व्यवस्थाले बैंकिङ क्षेत्रको शेयर मूल्यमा समेत सकारात्मक प्रभाव पारेको छ ।
यस्तै, लघुवित्त वित्तीय संस्थाहरूलाई लाभांश वितरणमा लगाइएको सीमा पुनरवलोकन गर्ने संकेतले पनि बजारमा उत्साह थपिएको छ । पछिल्लो समय लघुवित्त क्षेत्रमा लगानीकर्ताको चासो घट्दो क्रममा थियो, जसमा राष्ट्र बैंकको यो निर्णयले पुनः भरोसा बढाएको देखिएको छ । लघुवित्तका शेयरधनीहरूले लामो समयदेखि लाभांश सीमाको विरोध गर्दै आएका थिए । सोही नीतिले उनीहरूमा परेको निराशालाई हटाएर बजारमा सकारात्मक सन्देश दिएको छ ।
यसैबीच, मौद्रिक नीति सार्वजनिक भएपछिको एक हप्तामा शेयर बजार परिसूचक ‘नेप्से’ १३८.८३ अंकले वृद्धि भएको छ । असार २९ गते आइतबार २७३१.८० अंकमा रहेको नेप्से साउन १ गते बिहीबारसम्ममा २८७०.७८ अंकमा पुगेको हो । सात दिनको अवधिमा ५७ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । आइतबार मात्रै ३११ कम्पनीका ३ करोड २५ लाख कित्ता सेयर १ लाख ५ हजार पटक कारोबार हुँदा ११ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको थियो । यो कारोबार पछिल्ला महिनामा सबैभन्दा उच्च थियो ।
तर, बजारको उत्साह दोस्रो दिन सोमबारमा भने अलिक घट्यो । ३५ अंकले घटेको बजारमा ३२१ कम्पनीका २ करोड ११ लाख कित्ता सेयर ७ अर्ब २९ करोड रुपैयाँ बराबरमा किनबेच भए । तर उक्त गिरावटलाई मंगलबारको बजारले फेरि उत्साहमा बदलेको देखियो । मंगलबार नेप्से ३४.४६ अंकले बढ्दै २७६०.१७ अंकमा पुग्दा ३१७ कम्पनीका २ करोड ६५ लाख कित्ता सेयर ९ अर्ब ४१ करोड रुपैयाँमा कारोबार भए ।
बुधबार र बिहीबारको बजार अझ सकारात्मक रह्यो । बुधबार नेप्से सूचक ३४.६१ अंकले वृद्धि हुँदा बिहीबारको बजारमा झनै उत्साहजनक वृद्धि देखियो । बिहीबार नेप्से ७५.८४ अंकले बढेर १६ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यो एक सातामै भएको उच्च वृद्धिले लगानीकर्तामा बजारबारे आशावाद बढाएको छ ।
बजारको वर्तमान उत्साहको पछाडि अर्को कारण पर्याप्त तरलता पनि हो । बैंकिङ प्रणालीमा तरलता प्रशस्त भएकाले बैंकहरूले कर्जाको ब्याजदर घटाएका छन् । अहिले अधिकांश बैंकहरूको ब्याजदर ८ प्रतिशतभन्दा तल झरेको छ । ब्याजदर घट्दा बैंकमा निक्षेप राख्नेभन्दा पनि लगानी गर्ने प्रवृत्ति बढ्ने हुँदा पूँजी बजार आकर्षक गन्तव्य बन्ने गरेको छ । यसले पनि शेयर बजारमा लगानीकर्ताको उपस्थिति बढाएको छ ।
त्यसैगरी, प्रविधिको विकासले शेयर कारोबारमा सहजता ल्याएको छ । अब जो जहाँ भए पनि ट्रेडिङ म्यानेजमेन्ट सिस्टम प्रयोग गरेर शेयर खरिद–बिक्री गर्न सक्छन् । अनलाइन माध्यमबाट शेयरकारोबार गर्न सकिने व्यवस्था विस्तारै जनसाधारणमा लोकप्रिय बन्दै गएको छ । शेयर बजारमा नयाँ कम्पनीको प्रवेश जारी नै छ । लामो समयदेखि रोकिएको आईपीओ (प्रारम्भिक सार्वजनिक निष्काशन) प्रक्रिया यस आर्थिक वर्षमा तीव्र हुने अनुमान छ । सरकार आफैंले राज्य स्वामित्वका केही कम्पनीहरूको आईपीओ ल्याउने तयारी गरिरहेको छ । यस्ता नयाँ कम्पनीहरूको आगमनले बजारमा थप गहिराइ र विविधता ल्याउनेछ । नयाँ लगानीकर्ताको प्रवेश बढ्नेछ भने बजार पूँजीकरणमा पनि वृद्धि हुनेछ ।
यद्यपि, केही चुनौतीहरू यथावत् छन् । नेपालको राजनीतिक अवस्थाले शेयर बजारलाई ठूलो प्रभाव पार्ने देखिन्छ । स्थायित्वको अभाव, बारम्बारको सत्ता परिवर्तन, राजनीतिक अस्थिरताका कारण नीति निर्माण तथा कार्यान्वयनमा ढिलासुस्ती हुँदै आएको छ । चालु आर्थिक वर्ष पनि राजनीतिक तरलतामै अघि बढ्ने देखिन्छ, जसले लगानीकर्ताको दीर्घकालीन योजना बनाउन गाह्रो पार्नेछ ।
अन्तर्राष्ट्रिय आर्थिक अवस्था पनि अझै स्थिर भइसकेको छैन । अमेरिकी फेडरल रिजर्भ, युरोपियन सेन्ट्रल बैंक, चीनको अर्थतन्त्र लगायतले विश्व बजारमा प्रभाव पारिरहेको छ । युक्रेन–रुस युद्ध र मध्यपूर्वको अस्थिरताले विश्व बजारमा कच्चा पदार्थको मूल्य तथा मुद्रास्फीतिमा असर पारिरहेका छन् । यस्तो सन्दर्भमा विदेशी लगानी भित्र्याउन सक्ने वातावरण बनाउन नेपाललाई अझ मेहनत गर्नुपर्ने अवस्था छ ।
नीतिगत स्पष्टता, मौद्रिक सहजता, लगानीकर्ताको उत्साह र प्रविधिको विकासले बजारलाई चलायमान बनाउने देखिएको छ ।













