हिमालयन बैंकको एफपीओ आजबाट बन्द हुँदै

४ श्रावण २०८२, आईतवार ०६:४६

काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्कासन गरिरहेको एफपीओ आज बैंकिंग समयपछि बन्द हुने भएको छ।

बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न असार २२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

यसमा आवेदन दिंदा कम्तीमा १० कित्ता एफपीओका लागि आवेदन दिनु पर्नेछ भने बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

बैंकले शेयर पूँजी वृद्धि गरी पूँजी संरचना संस्थापक र सर्वसाधारणतर्फ ७०ः३० कायम गर्नका लागि एफपीओ निष्कासन गरेको हो। एफपीओ निष्कासनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता शेयर कायम हुनेछ।

यसमा लगानीकर्ताले बिक्री प्रबन्धक समेत रहेको डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेड, कमलादीस्थित हिमालयन बैंक लिमिटेड र धितोपत्र बोर्डका साथै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्।

बैंकले एफपीओ निष्कासनपछि प्राप्त हुने पूँजीमध्ये ८० प्रतिशत लगानी गर्ने र बाँकी २० प्रतिशत सेवा विस्तार तथा स्तरोन्नतीमा खर्चिने बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*