आर्थिक संकटमा फसेका पोखरा र समृद्धि फाइनान्स मर्जरमा जाँदै, १:१ रेसियोमा सम्झौता

४ श्रावण २०८२, आईतवार १०:२२

काठमाडौँ । वित्तीय समस्याले थिचिएको पोखरा फाइनान्स लिमिटेड अन्ततः मर्जर प्रक्रियामा जाने निर्णयमा पुगेको छ । कम्पनीले समृद्धि फाइनान्स लिमिटेडसँग मर्जर सम्झौता गरेको हो ।

दुवै संस्थाबीच १ः१ को स्वाप रेसियोमा (एक शेयर बराबर एक शेयर) मर्जरको सहमति भएको छ। मर्जरपछिको संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ नाममै रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौँमा सारिनेछ। मर्जरपछि बन्ने संयुक्त संस्थाको सञ्चालक समिति अध्यक्ष समृद्धि फाइनान्सबाट चयन हुनेछ। सञ्चालक समितिमा समृद्धिबाट अध्यक्षसहित ४ जना र पोखरा फाइनान्सबाट ३ जना रहने व्यवस्था मिलाइएको छ।

समृद्धि फाइनान्सको तर्फबाट मर्जर समितिका संयोजक सुदिप घिमिरे र पोखरा फाइनान्सको तर्फबाट मर्जर समितिका संयोजक तिलबहादुर गुरुङले संयुक्त रुपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा दुवै कम्पनीका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो।

मर्जर पश्चात संयुक्त संस्था अझ सबल, सक्षम र उत्कृष्ट वित्तीय संस्था बन्ने दाबी गरिएको छ। यस मर्जरले संस्थापक तथा सर्वसाधारण शेयरधनीको हित सुरक्षित गर्नुका साथै समग्र मुलुकको वित्तीय स्थायित्वमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई मर्जरका लागि अघि बढाएको नीतिगत व्यवस्था अनुसार यो कदमलाई सकारात्मक पहलको रूपमा हेरिएको छ।

यसअघि नै गम्भीर वित्तीय दबाबमा परेको पोखरा फाइनान्सले समयमै मर्जरको विकल्प रोजेर समस्या समाधानतर्फ अग्रसर भएको देखिएको छ।  समृद्धि फाइनान्सको समेत पछिल्लो समय वित्तीय अवस्था कमजोर बन्दै गएको देखिन्छ । पूँजी, नाफा र गैर–प्रदर्शनकारी ऋण (एनपीए) लगायतका सूचकहरूमा समस्याहरू देखिन थालेपछि उसले पनि गाभिने बाटो रोजेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*