शिखर नगरपालिकाले बनाएका दुई सार्वजनिक शौचालय झाडीमा परिणत: न मापदण्ड, न प्रयोगकर्ता

४ श्रावण २०८२, आईतवार १३:३४

काठमाडौँ । डोटीको शिखर नगरपालिकाले निर्माण गरेका दुईवटा सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा पुगेका छन् । मोटो रकम खर्चेर शिखर नगरपालिका वडा नम्बर ६ को तलकोट र वडा नम्बर ८ लुहाखडी बजारमा निर्माण गरिएको शौचालय आवश्यकताको मूल्याङ्कन नगरी बनाइएकाले हाल जिर्ण बन्दै गएका हुन् ।

शौचालय निर्माणको उद्देश्य सार्वजनिक सेवा प्रवाह बढाउनु थियो । तर आवश्यकता अध्ययन, मापदण्ड निर्धारण, स्थानको छनोट र व्यवस्थापनको स्पष्ट योजना विना निर्माण गरिएकाले उक्त संरचना प्रयोगमै आउन सकेन । हाल दुबै शौचालय घाँसपातले ढाकिएको अवस्थामा छन् । वरपरको वातावरण फोहोर र दुर्गन्धित हुँदै गएको छ । स्थानीयका अनुसार मानिसहरू त्यहाँ जान पनि सक्दैनन् ।

एक स्थानीय बासिन्दाले भने, ‘बजार क्षेत्रमा शौचालय त आवश्यक छ, तर मापदण्डविहीन ढंगले बनाइयो । प्रतिनिधि छनोट गरेर जिम्मेवारी दिने, पानीको व्यवस्था मिलाउने र प्रयोगकर्तालाई सहज हुने संरचना चाहिन्छ । तर यहाँ बजेट सक्ने निहुँमा मात्रै काम भएको देखिन्छ ।’

नगरपालिकाले बजेट खर्च गरे पनि निर्माणपछिको व्यवस्थापनमा ध्यान नदिएको आरोप स्थानीयहरूले लगाएका छन् । कुनै उपभोक्ता समिति नबनाइएकाले दैनिकीमा शौचालयको हेरचाह हुन सकेको छैन । यसको प्रत्यक्ष असर संरचनाको प्रयोगमा नआउनु र अन्ततः बजेटको दुरुपयोगमा देखिएको छ ।

सो विषयमा नगरपालिकाकी सूचना अधिकारी कल्पना ठकुरीलाई सम्पर्क गर्ने खोज्दा उनी सम्पर्कमा नै आउन चाहिनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*