सूर्य नेपालको वार्षिक सञ्चालन आय साढे २८ अर्ब

४ श्रावण २०८२, आईतवार १७:०२

काठमाडौं । पछिल्लो एक वर्षमा सूर्य नेपाल प्रालिको सञ्चालन आय साढे २८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । क्रेडिट रेटिङ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आय २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ रहेको देखिएको हो । कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋणका लागि रेटिङ गराएको हो ।

यसअघि आर्थिक वर्ष २०७९/८० मा कम्पनीको यस्तै आय २८ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।

सन् १९८६ मा स्थापना भएको सूर्य नेपाल प्रालिमा भारतको आइसीटि लिमिटेडको ५९ प्रतिशत स्वामित्व छ । बाँकी ३९ प्रतिशत नेपाली व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको स्वामित्वमा रहेको छ भने २ प्रतिशत हिस्सा ब्रिटिश अमेरिकन टोबाको (इन्भेस्टमेन्ट) लिमिटेड, बेलायतको स्वामित्वमा रहेको छ ।

सूर्य नेपाल प्रालि नेपालको सबैभन्दा ठूलो निजी क्षेत्रको उद्योग मानिन्छ । कम्पनीले हाल नेपालमा चुरोट, अगरबत्ती तथा ब्रान्डेड प्याकेज गरिएका खाने वस्तुको उत्पादन र व्यापार गरिरहेको छ । कम्पनीले सूर्य नेपाल भेन्चर्स प्राइभेट लिमिटेड नामक सहायक कम्पनीमार्फत अगरबत्ती उत्पादन र बिक्री गर्दै आएको छ ।

सूर्य नेपालको होल्डिङ कम्पनी आइसीटि लिमिटेड सन् १९१० मा स्थापना भएको भारतको अग्रणी निजी क्षेत्रको कम्पनीहरूमध्ये एक हो । उक्त कम्पनीको वार्षिक आम्दानी सन् २०२५ को रिपोर्टअनुसार लगभग ७३४.६५ अर्ब भारु रहेको छ ।

सूर्य नेपाल विगत ३५ वर्षदेखि चुरोट उत्पादन व्यवसायमा संलग्न छ । यस कम्पनीले सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किंग्स, सूर्या फ्युजन, सूर्य स्लीक बोल्ट, शिखर फिल्टर किंग्स, शिखर आइस रश, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी जस्ता विभिन्न सफल ब्रान्ड उत्पादन गर्दै आएको छ ।

कम्पनीको निर्देशक बोर्डको समग्र रणनीतिक मार्गदर्शनमा सञ्चालनमा रहेको सूर्य नेपालको अध्यक्ष संजीब पुरी हुन्, जो आइसीटिका समेत अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । भारतीय प्रविधि संस्थान (आईआईटी) कानपुर तथा अमेरिकाको व्हार्टन स्कूल अफ बिजनेसका पूर्वविद्यार्थी समेत रहेका पुरीसँग व्यवस्थापनको क्षेत्रमा दीर्घ अनुभव छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*