डिजिटल भुक्तानी क्षेत्रमा खेतान समूहको ठूलाे पाइला, फोन पेमा २० प्रतिशत शेयर खरिदको तयारी

५ श्रावण २०८२, सोमबार १०:२८

काठमाडौं। नेपालको डिजिटल भुक्तानी क्षेत्रमा प्रभावशाली उपस्थिति बनाइसकेको फोन पे सर्भिसेज लिमिटेडमा ‘हाउस अफ राज’ समूहले उल्लेखनीय लगानी गर्न लागेको छ। व्यवसायी राजेन्द्र खेतानको नेतृत्वमा रहेको समूहले कम्पनीको २० प्रतिशत शेयर प्राप्त गर्न १ अर्ब ४० करोड रुपैयाँको लगानी गर्न लागेको हो।

ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक मनीष थापाका अनुसार यो सम्झौता करिब दुई महिना अघि नै सम्पन्न भइसकेको छ र अहिले राष्ट्र बैंकको स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। ग्लोबल इक्विटी फन्ड ‘हाउस अफ राज’ समूह अन्तर्गतकै लगानी संस्था हो, जसले विगत केही वर्षदेखि वित्तीय तथा प्राविधिक क्षेत्रमा लगानी बढाउँदै आएको छ।

फोन पे, एफवान सफ्ट इन्टरनेशनल समूहको सहायक कम्पनीका रूपमा क्रियाशील छ। कम्पनीले क्यूआर कोडमार्फत भुक्तानी, यूपीआई कारोबार सुविधा, तथा भारतीय पर्यटकहरूलाई लक्षित डिजिटल सेवा जस्ता प्रविधिनिर्भर सुविधा उपलब्ध गराउँदै आएको छ।

फोन पेमा भएको यो ठूलो लगानी सम्झौताले कम्पनीको भावी योजना, प्रविधि विस्तार र सेवा सुदृढीकरणमा टेवा पुग्ने विश्वास गरिँदैछ।  राष्ट्र बैंकको स्वीकृति प्राप्त भएलगत्तै शेयर हस्तान्तरणको प्रक्रिया अघि बढ्ने र दुबै पक्षको सहकार्य अझ औपचारिक हुने जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*