स्टील बजारमा ‘अम्बे ब्रान्ड’को धमाकाः ९ महिनामा ६ अर्बको व्यापार, आइपीओ तयारीले थप पृथकको बाटोमा

काठमाडौँ । नेपाली उद्योग क्षेत्रको अग्रणी समूह ‘अम्बे ग्रुप’ अन्तर्गत रहेको अम्बे स्टील्स लिमिटेडले प्रिमियम दरमा प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) ल्याउने तयारी थालेको छ । देशको निर्माण क्षेत्रमा अत्यन्तै महत्वपूर्ण मानिने छड, बिल्लेट, जस्ता तार (जीआई वायर) तथा ग्याबियन बक्स उत्पादन गर्दै आएको कम्पनीको उत्पादन क्षमता, प्रवद्र्धकको अनुभव र पछिल्ला वर्षहरूमा देखिएको वित्तीय मजबुतीले आइपीओ निष्कासनलाई आकर्षक बनाउने देखिएको हो ।
२०६४ साल भदौ ९ गते ‘अम्बे स्टील्स प्राइभेट लिमिटेड’को रूपमा स्थापना भएको कम्पनीले २०८० साल असोज २ गतेदेखि ‘अम्बे स्टील्स लिमिटेड’मा रूपान्तरण भएको हो । कम्पनीको उत्पादन केन्द्र रुपन्देही जिल्लाको भैरहवा–गोनाहा गाउँपालिका वडा नं. ६ मा अवस्थित छ । उद्योगमा हाल सालाना २ लाख ३८ हजार ४ सय मेट्रिक टनसम्म छड, बिल्लेट र जीआई तार उत्पादन गर्न सक्ने क्षमता छ । यससँगै ग्याबियन बक्स उत्पादनको पनि ३० लाख वर्ग मिटरको वार्षिक क्षमता रहेको छ, जुन नेपालको निर्माण क्षेत्रमा महत्वपूर्ण प्रयोग हुने सामग्री हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा१० अर्ब ८७ करोड ८० लाखको सञ्चालन आम्दानी गरेको थियो । त्यसपछिको वर्ष २०७९/८० मा सो आम्दानी केही घटेर ८ अर्ब ३४ करोड ८० लाखमा झरेको देखिए तापनि कम्पनीले आफ्नो नाफा कायम राख्दै लागत व्यवस्थापनमा सुधार ल्याएको देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वार्षिक आम्दानी ८ अर्ब ५ करोड ९० लाख रहेको छ । हालै २०८१।०८२ को पहिलो ९ महिनामा कम्पनीले ६ अर्ब २८ करोड ३० लाख आम्दानी गरिसकेको छ ।
आर्थिक मन्दी र निर्माण क्षेत्रमा देखिएको सुस्तताका बावजुद अम्बे स्टीलले उत्कृष्ट व्यापार प्रदर्शन गरेको छ । कमजोर बजार परिस्थितिमा पनि कम्पनीले प्रभावकारी व्यवस्थापन र गुणस्तरीय उत्पादनमार्फत आफ्नो व्यापारलाई सुदृढ बनाउँदै वित्तीय लाभ कमाउन सफल भएको छ । यसले उद्योग भित्र प्रतिस्पर्धात्मक स्थान मजबुत गर्दै आम लगानीकर्तामाझ विश्वास जगाएको छ।
उत्पादन र बिक्रीमा चुनौतीहरू रहे पनि कम्पनीले आफ्ना सञ्चालन खर्च नियन्त्रण गरेर लाभांश र ऋण भुक्तानी क्षमतामा उल्लेखनीय सुधार ल्याएको देखिएको छ । खासगरी इबीआईटीडीए मार्जिन (ब्याज, कर, मूल्यह्रास र लिखतपछिको सञ्चालन मुनाफा मार्जिन) २०७८/७९ मा ४.९१ प्रतिशत थियो भने २०७९/८० मा ६.४३ प्रतिशत पुगेको देखिएको छ । यसमा अझै सुधार हुँदै २०८०/८१ मा ९.३० प्रतिशत र २०८१।०८२ को ९ महिनामा ९.४४ प्रतिशत पुगेको छ ।
कम्पनीले लिएको ऋण तिर्ने क्षमता सूचक (ब्याज कभर अनुपात) पनि क्रमशः सुधारोन्मुख देखिएको छ । २०७८/७९ मा यो अनुपात १.२७ गुणा थियो भने २०७९/८० मा केही घटेर १.२१ गुणामा झरेको थियो । यद्यपि २०८०/८१ मा यो पुनः सुधार हुँदै १.९० गुणा पुगेको हो । गत वर्षको ९ महिना अवधिमा भने यो अनुपात १.७४ गुणा कायम भएको छ ।
त्यस्तैगरी कुल ऋणलाई इबीआईटीडीएले भाग गर्दा आउने अनुपात पनि क्रमशः घटिरहेको छ । यो अनुपात २०७८/७९ मा ७.६३ गुणा थियो भने २०७९/८० मा ७.२९, २०८०/८१ मा ५.६० र गत वर्षको ९ महिनामा ६.०९ गुणा देखिएको छ । य
साथै, कम्पनीको समग्र गियरिङ अनुपात (कुल ऋण/स्वामित्व पुँजी) पनि घट्दो क्रममा रहेको छ। २०७८/७९ मा यो अनुपात २.८३ गुणा थियो भने २०७९/८० मा २.३६, २०८०/८१ मा २.२२ र चालु वर्षको ९ महिनामा २.३५ गुणा देखिएको छ।
अम्बे स्टील्सले नेपालभर विभिन्न ब्रान्ड नामहरू अन्तर्गत आफ्ना उत्पादनहरूको वितरण गर्दै आएको छ । यसमा अम्बे टीएमटी (थर्मो मेकानिकली ट्रिटेड फलामका छड) र अम्बे जिआइ (जस्ताले आवरण गरिएको तार) जस्ता परिचित ब्रान्डहरू प्रमुख छन् । यी राम्ररी स्थापित र चिनिएका ब्रान्डहरूले कम्पनीका उत्पादनहरू प्रति स्थिर माग कायम राख्न सहयोग पु-याउने मात्र नभई कम्पनीका उत्पादनहरूलाई प्रतिस्पर्धी कम्पनीहरूका उत्पादनहरूसँग स्पष्ट रूपमा भिन्न बनाउन पनि मद्दत पु-याएका छन् ।
कम्पनीले नेपालभर उत्पादन वितरणका लागि ६५५ वितरक (डिलर) सम्मिलित एक सुदृढ वितरक सञ्जाल (डिस्ट्रिब्युसन नेटवर्क) निर्माण गरेको छ । यो विस्तारले कम्पनीका उत्पादनहरू देशको सुदूर क्षेत्रसम्म पनि सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यसका साथै, कम्पनीले स्टिल निर्माणको लागि आवश्यक अत्यावश्यक कच्चा उत्पादन बिल्लेट (अद्र्धप्रक्रियाजात फलामजन्य वस्तु) पनि आफैं उत्पादन गर्दछ । कम्पनीसँग वार्षिक ८० हजार मेट्रिक टन बराबरको बिल्लेट उत्पादन गर्ने स्वामित्वयुक्त उद्योग रहेको छ ।
कम्पनीमा प्रमुख प्रवद्र्धकहरूका रूपमा शोभाकर न्यौपानेको २४ प्रतिशत, शिवाज न्यौपानेको १८ प्रतिशत, सज्जन अग्रवालको १२.५ प्रतिशत तथा शिवानी न्यौपानेको ११ प्रतिशत स्वामित्व रहेको छ ।
संचालन, उत्पादन क्षमता, प्रवद्र्धकको अनुभवी टोली, वित्तीय सूचकहरूको मजबुती तथा भविष्यको योजनाहरू हेर्दा अम्बे स्टील्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासनलाई सफल बनाउन सक्ने आधार बलियो देखिएको छ । अम्बे स्टील्सले १०० रुपैयाँ अंकित मूल्यमा २०३ रुपैयाँ थप गर्दै १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ ।













