प्राधिकरणले माग्यो साझेदार, पीपीपी मोडेलमा निर्माण हुँदै ४ प्रमुख प्रसारणलाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चारवटा महत्वपूर्ण प्रसारण लाइनहरू सार्वजनिक–निजी साझेदारी मोडेलमा निर्माण गर्न प्रस्ताव ल्याएको छ । प्राधिकरणले सो योजनाअन्तर्गत इच्छुक निजी कम्पनीहरूबाट ३० दिनभित्र आसयपत्र माग गरेको हो।
उच्च भोल्टेजका ट्रान्समिसन लाइनहरू निजी लगानीमा निर्माण गरी निश्चित अवधिपछि प्राधिकरणलाई हस्तान्तरण गर्ने मोडलमा परियोजना अगाडि बढाइनेछ । प्राधिकरणले प्रतिस्पर्धात्मक बोलपत्र प्रणालीमार्फत निजी क्षेत्रलाई वार्षिक राजस्वका आधारमा छनोट गर्ने जनाएको छ ।
यसरी सार्वजनिक–निजी साझेदारी मोडेलमा निर्माण गर्न प्रस्ताव गरिएका चारवटा प्रसारणलाइनहरूमा नयाँ खिम्ती–ढल्केबर (४०० केभी) प्रसारणलाइन, अरुण–इनरुवा (४०० केभी), टिङला–दूधकोशी–ढल्केबर (४०० केभी), र लप्सीफेदी–टिनपिप्ले (२२० केभी) प्रसारणलाइन छन् ।
यीमध्ये नयाँ खिम्ती–ढल्केबर र अरुण–इनरुवा प्रसारणलाइनको लागत क्रमशः ८ करोड अमेरिकी डलर अनुमान गरिएको छ । टिङला–दूधकोशी–ढल्केबर प्रसारणलाइनको लागत १४ करोड २० लाख अमेरिकी डलर र लप्सीफेदी–टिनपिप्ले प्रसारणलाइनको लागत १ करोड ८ लाख अमेरिकी डलर हुनेछ ।














