बंगलादेश विमान दुर्घटनाः १६ जनाको मृत्यु

५ श्रावण २०८२, सोमबार १७:५४

काठमाडौँ । बंगलादेशको राजधानी ढाका नजिकै रहेको एक विद्यालय भवनमा वायु सेनाको एक प्रशिक्षण विमान खस्दा कम्तीमा १६ जनाको ज्यान गएको छ भने ७० भन्दा बढी घाइते भएका छन्। घटनास्थल ढाकाको डियाबारी क्षेत्रमा रहेको माइलस्टोन कलेजको भवन हो, जहाँ सो दुर्घटना भएको हो।

इन्डिया टुडेले जनाएको अनुसार दुर्घटनामा संलग्न विमान चीनमा निर्मित एफ–७ जेट हो, जुन बंगलादेश वायु सेनाको प्रशिक्षण विमान हो। विमान विद्यालयमा कक्षा सञ्चालन भइरहेकै समयमा भवनको अगाडिको भागमा ठोक्किएको थियो।

टेलिभिजन फुटेजहरूमा विमान दुर्घटनापछि तीन तले विद्यालय भवनबाट कालो मुस्लोको धुँवा उडिरहेको र विद्यार्थीहरू रगताम्य अवस्थामा डरले भागिरहेका देखिन्छन्। एक शिक्षकका अनुसार ठुलो आवाजसहित विमान भवनमा ठोक्किँदा धेरै विद्यार्थी भवनभित्र थुनिएका थिए। दर्जनौँ विद्यार्थीहरू घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनापछि उद्धारका लागि सुरुवातमा कुनै एम्बुलेन्स वा उद्धार टोली नआएपछि सेनाका जवानहरूले नै आत्तिएका विद्यार्थीहरूलाई काँधमा बोकेर रिक्सा र अन्य निजी सवारी साधनमार्फत विभिन्न अस्पतालमा पुर्‍याएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*