एक्सपेङ जी–सिक्स र आयोनमा एकैचोटि ८ लाख छुट: बिक्री घटेपछि सीजी मोटर्सको अफरको नाममा चलाखी

५ श्रावण २०८२, सोमबार १८:२५

काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा ग्राहक घटेपछि सीजी मोटर्सले आफनो सवारी साधनको मूल्यमा भारी छुटको घोषणा गरेको छ। गाडी बिक्री हुनै छोडेपछि कम्पनीले ‘अफर’को नाममा छुट योजना ल्याएको हो ।

नेपाली बजारमा ‘एक्सपेङ जी–सिक्स’ मोडेललाई ८४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको सीजी मोटर्सले अहिले उक्त मोडेलमा ८ लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ। त्यस्तै, ‘आयोन’ गाडीमा पनि ८ लाख रुपैयाँको छुट दिइएको छ। यो छुट योजनासँगै कम्पनीले आकर्षक ब्याजदरमा लोन, निःशुल्क होम र ट्राभल चार्जर, सवारी कर र बीमा जस्ता सुविधा पनि थपेको छ।

यस्तो अफर बिक्री कम भएपछि मात्र ल्याइनुले कम्पनीकै रणनीति ग्राहकविरोधी रहेको स्पष्ट भएको छ। बजारमा प्रतिस्पर्धी गाडीहरूको मूल्य घटेपछि मात्र प्रतिक्रिया स्वरूप मूल्य घटाउनु र त्यसलाई ‘अफर’को आवरणमा प्रस्तुत गर्नु सीजी मोटर्सले पुराना ग्राहकप्रति देखाएको गैरजिम्मेवार व्यवहारको उदाहरण हो।

तीन महिना अघि गाडी किन्नेहरूले अहिले आफैँ ठगिएको महसुस गरिरहेका छन्। त्यतिबेला यिनै गाडीहरू खरिद गर्दा ८५ लाखभन्दा बढी मूल्य तिरेका ग्राहकले अहिले सोही मोडेलमा ८ लाख छुट देख्दा आश्चर्य र आक्रोश दुवै व्यक्त गरिरहेका छन्। सामाजिक सञ्जालहरूमा कम्पनीप्रतिको गुनासो र असन्तुष्टि दिनप्रतिदिन बढ्दो छ।

कम्पनीले आफ्ना गाडीको मूल्यमा यति ठूलो छुट दिने क्षमता राख्दासमेत पहिले ग्राहकसँग मनपरी मूल्य असुलेको प्रस्ट देखिन्छ। यस्ता छुट योजना तब मात्र ल्याइन्छ जब कम्पनीको बिक्री घट्छ र त्यसले प्रत्यक्ष रूपमा प्रमाणित गर्छ कि अघिसम्म लिइएको मूल्य ग्राहक ठग्नकै लागि थियो।

सीजी मोटर्सजस्तो स्थापित कम्पनीले मूल्य निर्धारणमा पारदर्शिता कायम गर्नुपर्ने थियो। तर, कम्पनीको चाल हेर्दा ग्राहकलाई क्षणिक अफर देखाएर झुक्याउने प्रवृत्ति स्पष्ट देखिन्छ। बजारमा घट्दो बिक्रीसँगै ल्याइने अफर र छुट योजनाले ग्राहकमा भ्रम र अविश्वासको वातावरण बनाएको छ।

त्यसमा पनि कम्पनीले पुराना ग्राहकप्रति कुनै जवाफदेहिता नदेखाउनु र उनीहरूको गुनासोलाई बेवास्ता गर्नु कम्पनीको गैरजिम्मेवारपनको अर्को प्रमाण हो। मूल्यमा स्थायित्व र निष्पक्षता कायम गर्नुको सट्टा सीजी मोटर्सले ग्राहक संख्याका आधारमा मूल्य घटाउने वा बढाउने चलन अवलम्बन गरेर बजार व्यवस्थापन गर्न खोज्नु नै ग्राहकविरोधी सोच हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*