सिन्धु विकास बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । सिन्धु विकास बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा २८७.६० प्रतिशतले वृद्धि भएको छ।
बैंकले अघिल्लो आवको असार मसान्तसम्म ३ करोड ४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म बैंकले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।
खुद नाफा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि १५.६९ रुपैयाँले वृद्धि भएको छ। अघिल्लो वर्ष बैंकको ईपीएस ५.४६ रुपैयाँ रहेकोमा गत वर्ष बढेर २१.१५ रुपैयाँ पुगेको हो।
यद्यपि बैंकको खुद ब्याज आम्दानी भने अघिल्लो वर्ष १९ करोड १४ लाख रुपैयाँ रहेकोमा गत वर्ष ३०.१४ प्रतिशतले घटेर १३ करोड ३७ लाख रुपैयाँमा झरेको छ। यता बैंकको खुद सञ्चालन आम्दानी भने २० करोड ५९ लाख रुपैयाँबाट ६०.१२ प्रतिशतले बढेर ३२ करोड ९७ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी बैंकको सञ्चालन नाफा पनि अघिल्लो वर्ष २ करोड ९६ लाख रुपैयाँ मात्रै रहेकोमा गत वर्ष ४१७.३९ प्रतिशतले बढेर एकैचोटी १५ करोड ३५ लाख रुपैयाँमा पुगेको छ।
चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २० करोड ७५ लाख रुपैयाँ ऋणात्मक छ भने रिजर्भमा १३ करोड ३४ लाख रुपैयाँ रहेको छ। बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको खराब कर्जा अघिल्लो वर्ष १०.६३ प्रतिशत रहेकोमा गत वर्षसम्म घटेर ६.०३ प्रतिशतमा झरेको छ। वितरणयोग्य नाफा २० करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ ८६.७० रुपैयाँ रहेको छ।












