सुर्य नेपालको नाममा जागिरको झुटो आश्वासन, लाखौँ ठग्ने आकाश झाविरुद्ध पक्राउ पुर्जी

६ श्रावण २०८२, मंगलवार १५:३१

काठमाडौं । सुर्य नेपाल प्रा.लि. (चुरोट) कम्पनीको नाम दुरुपयोग गरी दर्जनौँ व्यक्तिलाई रोजगारीको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने आकाश कुमार झामाथि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। अदालतले ठगीसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो।

रौतहटको कर्कच कमैया (हाल वीरगञ्ज) निवासी २५ वर्षीय आकाश कुमार झाले आफू र आफ्ना काका सुबाष कुमार झा सुर्य नेपाल कम्पनीका कर्मचारी भएको भनी विश्वास दिलाई विभिन्न व्यक्तिहरूलाई जागिर लगाइदिने भन्दै ठूलो रकम असुलेका थिए। उनले पीडितहरूसँग प्रति व्यक्ति पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म ‘प्रोसेसिङ शुल्क’ र ‘सिक्युरिटी मनी’को नाममा उठाएका थिए।

उजुरीकर्ताहरूका अनुसार आकाश कुमार झाले सामाजिक सञ्जाल तथा व्यक्तिगत सम्पर्कमार्फत पीडितहरूसँग सम्पर्क गर्दै सुर्य नेपालमा निश्चित तलबसहितको जागिर मिलाइदिने भन्दै विश्वास जितेका थिए। पीडितहरूमध्ये एक चेवनकुमार सुनुवारले विभिन्न व्यक्तिबाट ऋण लिएर झालाई रकम बुझाएका थिए। ती रकमहरू इसेवा, क्यूआर कोड तथा बैंक खातामार्फत झालाई पठाइएको विवरण उजुरीमा उल्लेख छ। रकम लिएको केही समयपछि झा सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीकहाँ पुगेका थिए।

नयाँबजार प्रहरी वृत्तको प्रारम्भिक अनुसन्धानले आकाश कुमार झा योजनाबद्ध ढंगले विश्वास जिती ठगीमा संलग्न भएको देखाएको छ। उनी काठमाडौं महानगरपालिका–१० मा बसोबास गर्दै आएका थिए। घटनापछि फरार भएका उनलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो।

अदालतका अनुसार झाले प्रयोग गर्दै आएको ९८०२९२१…र ९८०५६७३… मोबाइल नम्बर तथा बैंक कारोबार, रकम संकलनका विधि र उजुरीकर्ताबाट प्राप्त प्रमाणका आधारमा ठगी पुष्टि हुने देखिएको छ। साथै, उनी भाग्ने सम्भावना उच्च भएकाले तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन आदेश दिइएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*