एउटै छानामुनी हुँदै आएको अटो शो पहिलो पटक टुक्रियो, व्यापारीको स्वार्थमा नाडा र नाइमा मेला

६ श्रावण २०८२, मंगलवार १६:५३

काठमाडौँ । नेपालको अटोमोबाइल क्षेत्र पाँच दशकपछि ऐतिहासिक मोडमा पुगेको छ । अर्बौको बजार सम्हाल्दै आएको अटो क्षेत्र पहिलोपटक औपचारिक रूपमा दुई धारमा विभाजित भएको हो । विसं २०३२ मा सवारी साधन आयात व्यवसायलाई संगठित बनाउन स्थापना भएको संस्था २०६१ मा रूपान्तरण भएर ‘नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नाम पायो । त्यसयता सन् १९८८ मा सुरु भएको ‘नाडा अटो सो’मार्फत व्यवसायी र उपभोक्ता जोड्ने ठूलो भूमिका खेल्दै आएको यो संस्था पछिल्ला केही वर्षयता आन्तरिक असमझदारीले ग्रस्त हुँदै गइरहेको थियो । नीतिगत मतभेद, निर्णय प्रक्रियामाथिको असन्तुष्टि र पारदर्शिताको अभावले गर्दा पुरानै सहकार्यको जग धमिलो बन्दै गयो।

पछिल्लो समय संस्थाभित्रको टकराव चुलिँदै गएपछि चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन आयात गर्ने अग्रणी कम्पनीहरूले नयाँ मोर्चा बनाउने निष्कर्ष निकाले । यही पृष्ठभूमिमा २०८२ साल वैशाख ३ गते ‘नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)’को औपचारिक घोषणा गरियो ।

अब दुई भिन्न संस्था एउटै स्थानमा छुट्टाछुट्टै अटो प्रदर्शनी लिएर प्रस्तुत हुँदैछन् । नाइमाले यसवर्ष आफ्नो पहिलो अटो एक्स्पो ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने तयारी गरिरहेको छ । यही स्थानमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पनि भदौ ३ देखि ८ गतेसम्म ‘नाडा अटो सो २०२५’ गरिने घोषणा गरिसकेको छ । विगतमा एउटै मञ्चबाट अटो बजारको प्रवद्र्धनमा लागिरहेका व्यवसायीहरू यस वर्ष भने दुई फरक छातामुनि आ–आफ्नो पहिचान लिएर प्रस्तुत हुने भएका छन् । दुवै संस्थाले आफ्नो कार्यक्रमलाई भव्य, आकर्षक र प्रविधिमैत्री बनाउने तयारी गरिरहेका छन् । नाइमाले जेठ २८ गते स्टलको वितरण सकेको छ भने नाडाले असार १८ गते बाँडफाँटको काम टुंग्याएको छ । तयारीमा कसैले कमी नराख्ने घोषणा गर्दै दुबैले अटो क्षेत्रको नेतृत्वमा आफूलाई अग्रपंक्तिमा राख्ने संकेत गरेका छन् ।

नाडाको नेतृत्व समालेका करण चौधरी र नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्य अटो सोबाट एक अर्कोको शक्ति प्रदर्शनको थलोको रुपमा समेत लिएका छन् । अटोमोबाइल प्रदर्शनीहरू हाल केवल सवारीसाधन प्रदर्शन गर्ने थलो मात्र नभई ब्रान्ड र ग्राहकबीच प्रत्यक्ष संवादको प्रभावकारी माध्यमका रूपमा अघि बढिरहेका छन् ।

अटो व्यवसायको परिवर्तनशील स्वरूप र उद्योगमा देखिएका चुनौतीहरूकाबीच नाइमाको स्थापना एउटा नयाँ सोचको परिणामस्वरूप भएको हो । अर्कोतर्फ, नाडा भने दशकौं पुरानो संस्था हो, जसले हजारौं सदस्यलाई समेट्दै सातै प्रदेशमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ ।

कुन ब्रान्ड कता देखिन्छन् ?

अटोमोबाइल क्षेत्रमा दुई फरक संस्था मार्फत हुन लागेको दुई अटो शोले व्यवसाय मात्र होइन ब्रान्डको बफादारी पनि परीक्षणमा पारेको छ । सवारी साधनको बजार विस्तारमा निर्णायक भूमिका निर्वाह गर्दै आएका ठूला आयातकर्ता र डिलरहरूको उपस्थिति कुन शोमा रहने भन्ने प्रश्नले अहिले बजारमा व्यापक चासो र कौतूहल जगाएको छ ।

नाइमाको ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ४८ ब्रान्ड रहनेछन् भने नाडाको ‘नाडा अटो शो २०२५’ मा ३५ ब्रान्ड मात्र रहने जनाइएको छ ।

स्टल संख्याको हिसाबले भने नाडाले अग्रता लिएको छ । नाडाको शोमा ७५ स्टल रहनेछ भने नाइमाको कार्यक्रममा ४८ स्टल मात्र हुनेछ । नाइमाले सवारीसाधन ब्रान्डका लागि मात्रै स्टल राखेको छ भने अन्य सम्बद्ध क्षेत्र—जस्तै बीमा, बैंकिङ, स्पेयर पाट्र्स, टायर, लुब्रिकेन्ट जस्ता कम्पोनेन्ट व्यवसायीका लागि कुनै छुट्टै व्यवस्था गरिएको छैन । यस विपरीत नाडाले भने कम्पोनेन्टहरूलाई पनि ठूलो प्राथमिकता दिएको छ, जसका लागि मात्र ४० स्टल छुट्याइएको छ ।

ब्रान्डको वर्गीकरण हेर्दा नाइमा चारपाङ्ग्रे सवारीको हिसाबले तुलनात्मक रूपमा बढी आकर्षक देखिएको छ । हुन्डाई, महिन्द्रा, निसान, टोयटा, एमजी, ओमोदा–जैको, किया, बिवाइडी, सिट्रोन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्टस, लिपमोटर, एलईभी १, म्याक्सस, माज्दा, मिल्सुबिशी, प्युजोको, पोटोन, रेनल्ट, भोल्क्सवागन र जिकर जस्ता लोकप्रिय ब्रान्डहरू नाइमाको शोमा देखिने तयारीमा छन् ।

यता, नाडाले भने टाटा, टेसला, सुजुकी, सेरेस, रिडार, फोटन, दिपल, स्काइ वेल, जेवाइ एयर, जीनपेंग, नामि, अवतार, डोङफोङ, एलोन, बिएडब्लु, एलएस अटो आदिलाई सहभागी हुने छन् ।

दुईपाङ्ग्रे सवारीको कता ?

दुईपाङ्ग्रे सवारीतर्फ भने नाइमाको उपस्थिति तुलनात्मक रूपमा निकै बलियो देखिएको छ, जहाँ १८ ब्रान्ड सहभागी छन् भने नाडामा ४ मात्र छन् ।

दुईपाङ्ग्रे सवारी साधनमा नाइमाको ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ बढी देखिन पाइने छ । जसमा १८ वटा ब्रान्ड देखिने छन् । बजाज, जिहो, महिन्द्रा, सुजुकी, एम्पीयर, याडिया, एथर, बेनेली, केटीएम, सिएफ मोटो, नियू, रिभोल्ट, ट्रायम्फ, रोयल इन्फिल्ड, सेगवे नाइनबट, टिभिएस, अल्ट्राभायोलेट ब्रान्ड हुने छन् । पछिल्लो समय बजारमा वैकल्पिक ऊर्जामा आधारित मोटरसाइकल र स्कुटरहरू ल्याएका छन् । यसले नाइमालाई आधुनिक प्रविधिमा केन्द्रित संस्था बनाउने संकेत दिएको छ ।

बजारमा लामो समयदेखि स्थापित, आफैमा पहिचान बनाइसकेका केही दुईपांग्रे ब्रान्डहरू नाडा पक्षमा देखिएकोछ । हिरो, यामाहा, जोनसोन र रोयल इन्फिल्ड ‘नाडा अटो शो २०२५’देख्न सकिने छ ।

कमर्सियल सवारी को कता ?

कमर्सियल सवारीतर्फ नाइमा र नाडा दुवैको उपस्थिति सन्तुलित देखिए पनि उनीहरूले समेटेका ब्रान्डहरू र वितरकहरू केही फरक छन् । केही कम्पनीहरू डोङफेङ, सनलङ, कामा जस्ता कम्पनी दुवैतर्फ देखिएका छन् । नाइमा कमर्सियल सवारीतर्फ केही चिनियाँ ब्रान्डहरूलाई प्राथमिकता दिएको देखिएको छ ।

नाडाको अटो शोमा न्यू गोनाउ, कामा, फोटोन, सोकोन, मोन्ट्रा, सिजि केवाईसी, डिएफएसके, डोङफेङ, स्काइवर्थ र कावेइ कमर्सियल सवारीहुनेछन् ।

‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा भने चरी वान्डा, डोङफेङ, फेरिजोन, सनलङ, कामा, किङलङ र क्यारी ब्रान्डहरुको सहभागिता हुने छ ।

नाडा र नाइमा दुवै अटो सोमा सातवटा सवारी ब्रान्डले सहभागिता जनाउने पक्का भइसकेको छ । चारपाङ्ग्रे सवारीतर्फ बिवाइडी र एलएस अटो, दुईपाङ्ग्रे तर्फ रोयल इनफिल्ड, र लाइट कमर्सियल भेहिकलतर्फ डोडफेड, सनलङ, किडलङ र कामा ब्रान्डले दुबै अटो सोमा उपस्थिति जनाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*