झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ ल्याउने, क–कस्ले कति कित्तासम्म भर्न पाइन्छ आवेदन?

७ श्रावण २०८२, बुधबार ०७:२२

काठमाडौं । झापा इनर्जी लिमिटेडले यही साउन १४ गतेदेखि शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको हो।

कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशि रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासनको मिति तोकेको हो।

कम्पनीले आयोजना प्रभावितलाई ३ लाख ८० हजार १९० कित्ता आईपीओ र वैदेशिक रोजगारीमा रहेकालाई ५७ हजार २९ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये १ लाख ९० हजार ९५ कित्ताका लागि झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा रहको आयोजनाको १०० मिटर वरपर बस्ने नागरिकले र बाँकी १ लाख ९० हजार ९५ कित्ताका लागि सोही नगरपालिकाको आयोजनाको १०० मिटर वरपरको क्षेत्र बाहेकमा बस्नेले आवेदन दिन सक्नेछन्।

यसमा आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

आयोजना प्रभावितले साउन १४ देखि २८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ १२ गतेसम्म लम्बिनेछ। यता वैदेशिक रोजगारीमा रहेकाले साउन १४ देखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा साउन २८ गतेसम्म लम्बिनेछ।

आयोजना प्रभावितले हिमालयन बैंकको दुधे, दमक–१, दमक–२, सुरुंगा शाखा कार्यालय, माछापुच्छ्रे बैंकको सुरुंगा र दमक शाखा कार्यालय र कम्पनीको आयोजना स्थानबाट भौतिक रूपमा दरखास्त फाराम प्राप्त गर्न सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेकाले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयर एप प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन्।

यस कम्पनीले ईक्रा नेपाल लिमिटेडबाट ‘ईक्राएनपी–आईआर बी माइनस’ रेटिङ पाएको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

प्रथम चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ।

One thought on “झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ ल्याउने, क–कस्ले कति कित्तासम्म भर्न पाइन्छ आवेदन?

  1. ललित साह says:

    मैले नबुझेको कुरा साेयम उपस्थित भएर फारम बुझाउनुपर्छ कि online बुजाएेनि हुनछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*