निफ्राको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आव खुद नाफा १३.८६ प्रतिशतले घटेको छ।
बैंकले अघिल्लो आवको असार मसान्तसम्म १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवमा घटेर १ अर्ब १४ करोड ५५ लाख रुपैयाँमा झरेको हो।
खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ०.८६ रुपैयाँले घट्न पुगेको छ। अघिल्लो वर्ष बैंकको ईपीएस ६.१६ रुपैयाँ रहेकोमा गत वर्ष घटेर ५.३० रुपैयाँमा झरेको हो।
त्यसैगरी बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्ष २ अर्ब ५५ करोड रुपैयाँमाथि रहेकोमा गत वर्ष २५.५१ प्रतिशतले घटेर १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँमा झरेको छ।
त्यसैगरी बैंकको खुद सञ्चालन आम्दानी पनि २ अर्ब २५ करोड १३ लाख रुपैयाँबाट १२.७१ प्रतिशतले घटेर १ अर्ब ९६ करोड ५२ लाख रुपैयाँमा झर्दा सञ्चालन नाफा भने १९ करोड रुपैयाँबाट ७६३ प्रतिशतले बढेर एकैचोटी १ अर्ब ६४ करोड रुपैयाँ नाघेको छ।
चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको यस बैंकको रिजर्भमा ४ अर्ब ७ करोड रुपैयाँ रहेको छ। बैंकले २४ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेर ७ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
प्रतिशेयर नेटवर्थ ११८.८८ रुपैयाँ रहेको यस बैंकले विभिन्न कम्पनीका बोण्ड र डिबेञ्चरमा ७ अर्ब २६ करोड रुपैयाँ लगानी गरेको छ।












