बजारमा उत्साह कायमैः परिसूचक १२ महिनाकै उच्च, करेक्सन विना उचाई कायम गर्न कठिनाई!

७ श्रावण २०८२, बुधबार १५:१०

काठमाडौँ । नेपाली शेयर बजारमा केही दिनदेखि देखिएको निरन्तर वृद्धिपछि आज बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ । कारोवारको सुरुमा नेप्से सूचकमा तीव्र वृद्धिको संकेत देखिए पनि दिनभर विभिन्न समय अन्तरालमा बजार ह्वात्तै बढ्ने र फेरि घट्ने अवस्थाले लगानीकर्तालाई अन्योलमा पार्यो । विशेषगरी पछिल्लो समय बजारमा देखिएको सकारात्मक वातावरणले नयाँ तथा अनुभवहीन लगानीकर्ता सक्रिय बनेका थिए तर बजारको आजको प्रवृत्तिले सावधानी अपनाउनुपर्ने अवस्था आएको छ ।

बजारमा यस्तो उतारचढावको अवस्था आउँदा सामान्यतः सीमित ठूलो लगानीकर्ताहरुको चलखेल रहने गरेको विश्लेषकहरु बताउँछन् । यस्ता अवस्थाले विशेष गरी साना लगानीकर्तालाई बढी जोखिममा पार्ने गरेको छ। किनभने सामान्य लगानीकर्ताले प्रवृत्ति हेरेर लगानी गर्ने हुँदा उनीहरू जालमा पर्ने सम्भावना बढी हुन्छ । बजार निरन्तर बढिरहँदा अवसर छुट्ने डरका कारण धेरै लगानीकर्ता हतारमा पर्छन्। तर, जानकारहरु भन्छन्, बजारले करेक्सन नगरी लामो समयको वृद्धिलाई टिकाइ राख्न सक्दैन।

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले शेयर बजारप्रति देखाएको सकारात्मक दृष्टिकोणले लगानीकर्तामा आशावाद ल्याएको छ। नीतिमा बैंक तथा वित्तीय संस्थाका लागि तरलता व्यवस्थापन सरल बनाउने व्यवस्था, कर्जामा लचिलोपन र पूँजी बजारका मुख्य मागहरुलाई सम्बोधन गरेपछि बजारमा उत्साह देखिएको हो। यही कारण पछिल्ला दिनमा सूचकमा उल्लेखनीय वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि देखिएको हो। तर, यस्तै अवस्थामा पनि बजार करेक्सन बिना अगाडि बढ्दा ठूलो गिरावट आउने जोखिम रहेको विशेषज्ञहरू बताउँछन् ।

हाल बजार ३२०० को हाराहारीमा पुगेको बेला केही विश्लेषकहरुले सूचक अझै माथि जान सक्ने संकेत गरिरहेका छन्, जसले नयाँ तथा साना लगानीकर्तालाई थप आकर्षित गरिरहेको छ। तर जानकारहरु बजारमा बेलुनझै फुलेको अवस्था देखिँदा कुनै पनि समय भारी गिरावट आउन सक्छ, जसले गर्दा धेरैको लगानी डुब्ने जोखिम रहन्छ । त्यसैले अहिलेको समय बजारको प्रवृत्ति बुझेर, अध्ययन र सचेततापूर्वक मात्रै लगानी गर्नुपर्ने देखिन्छ । लगानीकर्ताले प्रचार र अफवाहभन्दा टाढा रहेर, दीर्घकालीन सोचसहित निर्णय गर्नुपर्ने अवस्था हो ।

नेपाल स्टक एक्कचेञ्ज (नेप्से) ९.६१ अंंकले बढेर २९८३.३१ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

आज ६ उपसूचक राताम्य भएको छ भने ७ उपसूचकमा हरियाली आएको छ । यसदिन ९८ कम्पनीको शेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*