हेटौंडा सिमेन्ट सञ्चालनको माग गर्दै कर्मचारीले भेटे लेखा समिति

काठमाडौँ । थप्प अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योग पुनःसञ्चालनको माग गर्दै उद्योगका कर्मचारीहरू संघीय संसद्को लेखा समिति अध्यक्ष ऋषिकेश पोखरेललाई भेटेका छन्। सबै ट्रेड युनियनहरूको संयुक्त पहलमा समितिलाई बुझाइएको ज्ञापनपत्रमा सरकारी स्वामित्वको यो उद्योगलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरिएको हो ।
कर्मचारीहरूले उद्योग बन्द हुँदा रोजगार गुमाउनु परेको र राज्यको ठूलो लगानी खेर गइरहेको भन्दै तत्काल उचित कदम चाल्न माग गरेका छन्।
ज्ञापनपत्र बुझाउने क्रममा कर्मचारीहरूले लामो समयदेखि उद्योग बन्द हुँदा आफूहरू मानसिक, आर्थिक र सामाजिक समस्यामा परेको गुनासो गरेका थिए। उनीहरूले सार्वजनिक उद्योगलाई संरक्षण गर्नु सरकारको दायित्व भएको भन्दै हेटौंडा सिमेन्ट उद्योगलाई आवश्यक स्रोत साधन जुटाएर पुनःसञ्चालन गरिनुपर्ने आवश्यकता औंल्याएका छन्। उद्योग सञ्चालनमा नआउँदा राज्यलाई समेत राजस्व गुमेको र राष्ट्रिय उत्पादन क्षमतामा असर परेको तर्क प्रस्तुत गरिएको छ।
लेखा समिति अध्यक्ष पोखरेलले ज्ञापनपत्र प्राप्त गरेपछि समितिको तर्फबाट आवश्यक अध्ययन, छलफल र समन्वय हुने प्रतिबद्धता जनाए।
पछिल्लो समय सरकारले विभिन्न सरकारी उद्योगहरू निजीकरण गर्न खोजिरहेकोप्रति कर्मचारीहरू असन्तुष्ट देखिएका छन्। सार्वजनिक सम्पत्ति संरक्षण गर्नुको सट्टा निजी क्षेत्रलाई हस्तान्तरण गर्ने प्रवृत्तिले दीर्घकालमा राष्ट्रको औद्योगिक भविष्य कमजोर हुने चिन्ता उनीहरूले व्यक्त गरेका छन्।













