व्यवसाय विस्तारमा आक्रामक वाणिज्य बैंकः वर्षदिनमा ७ खर्ब ७६ अर्बले बढ्यो निक्षेप, कर्जा प्रवाहमा को तगडा ?

८ श्रावण २०८२, बिहीबार ११:४८

काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ मा निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन १३.४८ प्रतिशतले बढ्दा कर्जा प्रवाह ८.८३ प्रतिशतले बढेको देखिएको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको कुल निक्षेप ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुलनामा १३.४८ प्रतिशत अर्थात् ७ खर्ब ७६ अर्बले बढी हो । अघिल्लो असार मसान्तसम्म बैंकहरुसँग कुल ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो ।

गत आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकको निक्षेप संकलन सबैभन्दा बढी रहेको छ । कम्पनीको निक्षेप १३.९० प्रतिशतले बढेर ५ खर्ब ७५ अर्ब रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको निक्षेप ५ खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो ।

दोस्रो स्थानमा रहेको नबिल बैंकको निक्षेप संकलन १३.५४ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा भने बैंकको निक्षेप संकलन ४ खर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन १५.११ प्रतिशतले बढेर ४ खर्ब ९३ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १७.०८ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब रुपैयाँ, कुमारी बैंकको ८.२३ प्रतिशतले बढेर ३ खर्ब ७९ अर्ब, लक्ष्मी सनराइज बैंकको ११.४६ प्रतिशतले बढेर ३ खर्ब ७१ अर्ब, प्रभु बैंकको ११.४९ प्रतिशतले बढेर ३ खर्ब ४८ अर्ब रुपैयाँ र नेपाल बैंकको १७.९१ प्रतिशतले बढेर ३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।

१८ वटा बैंकको निक्षेप संकलन बढेपनि एनआइसी एशिया बैंकको भने घटेको छ । बैंकको निक्षेप संकलन १० प्रतिशत अर्थात् ३६ अर्ब रुपैयाँले घटेर ३ खर्ब २४ अर्ब रुपैयाँमा सीमित भएको छ ।

रकम अर्बमा

यता, हिमालयन बैंककको ३ खर्ब १३ अर्ब, एभरेष्ट बैंकको ३ खर्ब १ अर्ब, कृषि विकास बैंकको २ खर्ब ९३ अर्ब, एनएमबि बैंकको २ खर्ब ८३ अर्ब, सिद्धार्थ बैंकको २ खर्ब ८३ अर्ब, प्राइम बैंकको २ खर्ब ६८ अर्ब, सानिमा बैंकको २ खर्ब २५ अर्ब र सिटिजन्स बैंकको २ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ ।

कर्जा प्रवाह कस्को कति ?

गत आवमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८.८० प्रतिशत वृद्धि भई ४९ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ४५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह रहेको हो ।

कर्जा प्रवाहमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको कर्जा प्रवाह १२.७६ प्रतिशतले बढेर कुल ४ खर्ब ४० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने ३ खर्ब ९० अर्बको कर्जा प्रवाह गरेको थियो ।

दोस्रो नम्बरमा रहेको नबिल बैंकले ४ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको कर्जा प्रवाह ११.६८ प्रतिशतले बढी हो ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा प्रवाह ८.४३ प्रतिशतले बढेर ३ खर्ब ५६ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको १८ प्रतिशतले बढेर ३ खर्ब ८ अर्ब रहेको छ ।

यता, कुमारी बैंकको भने ०.३७ प्रतिशतले घटेर २ खर्ब ९२ अर्ब, एनआइसी एशिया बैंकको १६.०५ प्रतिशतले घटेर २ खर्ब ३९ अर्ब र स्टान्डर्ड चार्टड बैंकको १.३४ प्रतिशतले घटेर ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

रकम अर्बमा

यता, लक्ष्मी सनराइज बैंकको १२.१८ प्रतिशतले बढेर २ खर्ब ९० अर्ब, हिमालयन बैंकको २.९२ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब, एनएमबि बैंकको १८.९१ प्रतिशतले बढेर २ खर्ब ४३ अर्ब र प्रभु बैंकको २.२३ प्रतिशतले बढेर २ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*